पोखरा लेखनाथ महानगर प्रमुखमा एमालेका जिसी विजयी

0
433

पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे ।
मेयर जिसीको जन्म २०१७ साल भदौ १७ गते भएको हो । चार दाजुभाई मध्ये जिसी जेठो छोरा हुन् उनको स्थायी घर साविक कालिका गाविस तथा हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पर्छ । उनी गत संविधानसभा निर्वाचनमा कास्की १ बाट उम्मेदवार बनी करीव डेढ सय मतले कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए ।

शिक्षा शास्त्रमा स्नातक गरेका जिसीले राजनीतिक यात्रा भने तत्कालिन माले निकट अखिलबाट सुरु भएको थियो । उनी २०३७ सालमा अखिलको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष बनेका थिए ।

त्यसपछि २०३९ मा जिल्ला कमिटी उपाध्यक्ष हुँदै २०४१ मा पार्टीको संगठित सदस्यता लिएका थिए । जिसी तत्कालिन कालिका गाउँ कमिटीका सचिव, ईलाका कमिटी सचिव हुँदै २०५० मा जिल्ला कमिटी सदस्य भएका थिए । सोही समयमा उनी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बने ।

२०६८ मा जिल्ला कमिटी सचिव (प्रमुख) भएका उनी २०६६ सालबाट पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि जिल्ला अध्यक्ष बने । हाल उनी पार्टीका कास्की ईञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य छन् ।
महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी बन्दा उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त।