मानव अधिकार आयोगमा केवल राजनीतिक उजुरीको चाङ

0
454

काठमाडौं, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगमा धेरैजसो राजनीतिक विषय मात्र समावेश हुने गरेको आयोगका सूचना अधिकारी उपनिर्देशक टिकाराम पोखरेलले बताए ।  आयोगले शनिबार १७ औं वार्षिकोत्सव मनाउँदैछ । संवैधानिक निकायका रुपमा रहेको आयोगले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि मानवअधिकार हननका घटनाको अनुगमन, अनुसन्धान र दोषीलाई कारबाहीको सिफारिस गर्ने लगायतका काम गर्दै आएको छ ।

वार्षिकोत्सवका अवसरमा आयोगका सूचना अधिकारी उपनिर्देशक टिकाराम पोखरेलले पछिल्लो समय कम मात्र उजुरी पर्ने गरेको र परेकामा पनि धेरैजसो राजनीतिक विषय मात्र समावेश हुने गरेको बताए । सामाजिक, आर्थिक, साँस्कृतिक तथा आधारभूत आवश्यकता पूरा गर्ने बारेमा आयोगमा उजुरी गर्ने परिपाटी नरहेको उनको भनाई छ ।

पछिल्लो समय सरकारले गम्भीर प्रकृतिका घटनाका मुद्दा फिर्ता लिने निर्णय गरेकोमा त्यो मान्य नहुने आयोगले जनाएको छ । मानवअधिकारको बारेमा नागरिकमा चेतना बढ्न नसक्दा मानवअधिकारको अवस्थामा सुधार हुन नसकेको आयोगले जनाएको छ ।

राज्यसँग स्रोतसाधन नभएको तथा भएकै स्रोतसाधनको पनि सहि परिचालन हुन नसक्दा मानवअधिकारको अवस्था सुधार हुन नसकेको आयोगले जनाएको छ । घरघरसम्म मानवअधिकारको शिक्षा पुग्नुपर्नेमा जोड दिँदै आयोगले ६ वर्षे रणनीति बनाएर काम गरिरहेको जनाएको छ ।