तेह्रथुम, १४ जेठ । वर्षाका कारणसडक हिलाम्मे भएपछि स्थानीय चुनावका लागि मतदान केन्द्र निरीक्षणको काम प्रभावित भएको छ । चुनावी कार्यक्रम सुरु हुन अगावै केही मतदान केन्द्रको निरीक्षण तथा अनुगमन गर्नुपर्ने व्यवस्था भएपनि सडक अवरुद्ध भएपछि गर्न नसकिने अवस्था आएको मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेङली राईले बताए ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा ५७ स्थानमा ८५ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । ती मध्ये केहीको अवस्थाबारेमा मुख्य निर्वाचन अधिकृतले निरीक्षण तथा अनुगमन गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ । तर जिल्लामा गाउँदेखि सदरमुकाम जोडिने सडकहरु वर्षाका कारण हिलाम्मे भएर अवरुद्ध भएका छन् ।
सडक हिलाम्मे भएपछि मतदान केन्द्र निरीक्षण गर्न नसकिने अवस्था आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वर्षा सुरु भएपछि जिल्लाका ग्रामिण कच्ची सडकहरु सवारी सन्चालन योग्य रहदैनन् । यो वर्ष पनि वर्षा सुरु भएपछि करिब दुई साता यता जिल्लामा यातायातका साधनहरु अनियमित रुपमा मात्रै सन्चालन भइरहेका छन् ।