बागमती किनारका २ सय २५ सुकुम्बासी बालबालिकालाई गायिका पन्तको सहयोग

0
494

काठमाडौं, १४ जेठ । लोकप्रिय गायिका अन्जु पन्तले व्यक्तिगत रुपमा धेरैलाई सानो ठूलो सहयोग गर्दै आईन् । उनलाई सहयोगको हल्लाबाजी गर्न पटक्कै मन लागेन । सानैबाट अरुको दुःख देख्न नसक्ने गायिका पन्तले धेरै बालबालिका तथा असाहाय महिलालाई सहयोग गरिन् । उनी जहाँ सहयोगका लागि पुग्थिन प्राय सबैजसो ठाउँमा संस्थागत रुपमा सहयोग गर्न सल्लाह पाउँथिन् ।

त्यहि सल्लाहलाई आत्मसाथ गर्दै गायिका पन्तले ‘अन्जु पन्त फाउण्डेसन’ नामक संस्थाको स्थापना गरिन । गायिका पन्तले सोहि संस्था मार्फत यसै साता राजधानीकोे बागमती किनारमा रहेको सुकुम्बासी बस्तिका २२५ बालबालिकाहरुलाई शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस् भन्दै स्कुल ब्याग तथा कापि कलम वितरण गरेकी छिन् । जागरण प्रि प्राइमरी स्कूलको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गायिका पन्तको हातबाट शैक्षिक सामग्री समाउँदै गर्दा बालबालिकाको ओठमा निदोर्ष मुस्कान छरिएको थियो ।

प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुलाई लक्षित गरि गरिएको कार्यक्रममा स्थानीय अभिभावकको पनि उल्लेख्य उपस्थिति रहेको थियो । यसरी एक लोकप्रिय गायिकाबाट आफ्ना नानीहरुले सहयोग प्राप्त गर्न सकेकोमा स्थानीय अभिभावकहरुले खुशी भएको कुरा व्यक्त गरेका थिए ।

गायिका पन्तले अब यसै संस्था मार्फत संस्थागतरुपमा नै समाजसेवामा लाग्ने बताएकी छिन् । फाउण्डेसनको उद्देश्य बालबालिका, महिला र मानव बेचविखनको क्षेत्रमा कार्य गर्ने समेत पन्तको भनाई छ । आफ्नो यो अभियानमा साथ दिने कलाकार, पत्रकार, समाजसेवी तथा अन्य शुभचिन्तकबाट फाउण्डेसनलाई कोषका रुपमा स्थापना गरेर निनरन्तर समाज सेवा गर्ने प्रेरणा मिलेको भन्दै गायिका पन्तले संस्था भर्खरै दर्ता भएकोले शुरुमा नै आवश्यकतामा परेका बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा आफु अत्यन्तै खुशी मिलेको बताएकी छिन् ।

कार्यक्रममा चर्चित संगितकार अर्जुन पोखरेल, समाजसेवी थिर के.सी. लगायतका व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गायिका पन्तले पछिल्लो समय निक्कै नै चर्चामा रहेको गीत ‘म यस्तो गीत गाउँछु’गाएर बालबालिकालाई नचाएकी थिईन् । सो गीतमा संगीतकार अर्जुन पोख्रेलको शब्द तथा संगीत र अन्जु पन्तको स्वर रहेको छ ।