एकदिनमै जथाभावी बाटो काट्ने साढे ३३ सय यात्रु कारबाहीमा, ४ लाख बढी जरिवाना, १२ सय ३ घण्टा प्रहरी नियन्त्रणमा

0
535

काठमाडौं, १७ जेठ । ट्राफिक प्रहरीले आज दिनभरमा काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने ३ हजार ३ सय ५० जनालाई नियनत्रणमा लिएर कारबाही गरेको छ । यसमध्ये २ हजार १ सय २० जनाले २ सय रुपैयाँ जरिवाना तिरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले बताए । यसबाट ट्राफिकले पैदलयात्रुसँग एकैदिनमा ४ लाख २४ हजार रुपैयाँ जरिवना उठाएको छ ।

जरिवना तिर्न नसक्ने र नचाहने १ हजार २ सय २८ जनालाई ३ घण्टा प्रहरीको कार्यालयमा नियन्त्रणमा राखेर छाडिएको छ । उनीहरुलाई आधा घण्टाको सचेतना कक्षा समेत लिइएको सिलवालले बताए ।

‘प्रायः सबै उमेर र वर्गका यत्राुहरु समातिनुभयो । केहीले समातिएपछि जेब्रा क्रसिङ देख्ने गरीराख्न सुझाव दिनुभएको छ’ सिलवालले भने,’जेब्रा क्रसिङ हामीले राख्ने होइन, त्यसका लागि सडक विभागसँग हामीले अनुरोध गरेका छौं ।’
ट्राफिक प्रहरीले आजबाट जथाभावी बाटो काट्ने र पेटी छाडेर सडकबाट हिँड्ने यात्रुलाई नियनत्रणमा लिएर जरिवाना गर्न सुरु गरेको छ । जरिवाना नतिर्नेलाई ३ घण्टा प्रहरीको नियन्त्रणमा राखिनेछ ।

ट्राफिक प्रहरीले उपत्यकामा हुने दुर्घटनामा मृत्यु हुने पैदलयात्रुको संख्या ४० प्रतिशत भन्दा बढी भएकाले त्यसलाई न्युनीकारण गर्न यो ब्यवस्था गरिएको बताएको छ ।

कतिपय सर्वसाधाराणले भने जेब्रा क्रसिङ, पेटी लगायत पूर्वाधारको उचित रेखाङ्कन र निर्माण नभएकाले यसले यात्रुलाई सास्ती मात्रै दिएको बताएका छन् ।

कतिपयले भने ब्यवस्था राम्रो भएको भन्दै प्रभावकारी कार्यान्वयन गर्नमाग गरेका छन् ।