काठमाडौं महानगरको निर्णयः सूर्योदय अगावै फोहोर विर्सजन, सार्वजनिक स्थलमा फ्री वाईफाई

0
428

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले सूर्योदय अगावै महानगरको फोहोर विर्सजन गर्ने निर्णय गरेको छ ।

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले पदभार सम्हालेपछि नगरकार्यपालिकाको बैठक बसेको थियो । बैठकले ११ बुँदे निर्णय गरेको छ, जसमा क्लिन सिटी अभियान चलाउने मेयरको पहिलो निर्णय पनि समावेश छ ।

साथै नेपालीसँगै नेपाल भाषालाई महानगरको सरकारी कामकाजको भाषा बनाउने निर्णय पनि अनुमोदन भएको छ । ‘नेपाल भाषाका विज्ञ दोभाषेका व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा र्पुयाउने प्रवन्ध गरिनेछ’ निर्णयमा भनिएको छ ।

रञ्जना लिपीलाई महानगरको सबै कार्यालयको बोर्ड र लेटरप्यार्डमा प्रयोग गर्ने निर्णय पनि नगरकार्यपालिकाले गरेको छ ।

बारदरबारस्थित महानगरको भवन निर्माण तत्काल थाल्ने र वडा कार्यादय निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ । हालका अधिकांश वडा कार्यादयको भवन कार्यालय सञ्चालनका लागि अपर्याप्त भएको बैठकको ठहर छ ।

बैठकले महानगरको घर तथा टोलबाट उत्सर्जन हुने फोहोरलाई सूर्योदय अगावै विर्सजन र व्यवस्थापन गर्ने निर्णय गरेको छ । ८० वर्ष उमेर पुगेका पुरुष र ७५ वर्ष उमेर पुरा भएका महिलालाई महानगरको तर्फबाट बाषिर्क १२ हजार महानगर भक्ता दिने र घरमै चिकित्सक पठाएर स्वास्थ्य परीक्षण थालनी गर्ने अर्को निर्णय छ ।

भूकम्पबाट भत्किएका निजी आवास बनाउन निःशुल्क परामर्श सेवा दिने र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट दिने निर्णय भएको छ ।

महानगरका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रका साथै महत्वपूर्ण सार्वजनिक स्थल र पार्कमा फ्रि वाइफाइको व्यवस्था गर्ने निर्णय पनि भएको छ । महानगरका सबै वडा तथा विभागबाट प्रवाह हुने सेवालाई छिटो, प्रभावकारी र पारदर्शी बनाउँदै जवाफदेही र असल शासनको अभ्यास गर्ने अर्को निर्णय छ ।

सार्वजनिक शौचालयहरु निर्माण थाल्नुका साथै महानगरलाई २४ सै घन्टा खुल्ने जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास एवं निर्माण कार्य थालनी गर्ने पनि पहिलो नगरकार्यपालिकाको बैठकको निर्णय छ ।