जेठ २१ मा होला त प्रधानमन्त्रीको निर्वाचन ? यस्तो छ तयारी

0
441

काठमाडौं १८ जेठ । व्यवस्थापिका संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरेको छ । भरतपुरमा मतपत्र च्यातिएको विरोधमा प्रमुख विपक्षी एमालेले लगातार दुई दिनदेखि संसद अवरुद्ध पार्दै आएको छ । बिहीबार पनि एमालेले संसद अवरुद्ध गरेका कारण बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्या भण्डारीले गरेको आहृवान संसदमा पेश हुन सकेन । संसदको अर्को बैठक २१ गतेलाई राखिएको छ ।

तर, बहुमतीय सरकार गठन गर्न आहृवान गरिएको जानकारी सूचना टाँसेर दिने संसद सचिवालयको तयारी छ । भोलि सभामुखले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेपछि सूचना निकालिन सचिवालयले नजाएको छ ।

सम्भवत पर्सि शनिबार उम्मेदवारी दर्ता र आइतबार निर्वाच गराउने तयारी छ ।

निर्वाचन कार्यक्रम सार्वजनिक गर्न र उम्मेदवारी दर्तालाई सदन अवरोधले रोक्दैन । तर, प्रधानमन्त्री चयनका लागि मतदान गर्न भने सदनको अवरोध हट्नुपर्छ । भरतपुर प्रकरण टुंगियो भने २१ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।

सत्तारुढ माओवादी र फोरम लोकतान्त्रिक सहितका दलले देउवालाई समर्थन गर्ने बताइसकेका छन् । प्रमुख विपक्षी एमालेले भने उम्मेदवारी दिने नदिने केही बताएको छैन ।