जन्मदिनमा ‘अधर’

0
1647

काठमाडौं, १९ जेठ । पत्रकार शान्तिप्रियले जन्मदिनको अवसर पारेर आधुनिक गीतहरुको सङ्गालो एल्वम ‘अधर’ लिएर आएका छन् । बिहिबार राजधानीको रातो पुल स्थित रक हाउस क्याफेमा एक कार्यक्रमबीच ‘अधर’ सार्वजनिक गरिएको हो ।
छायाँछवि क्रिएशनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि सङ्गीतकार शम्भुजित बास्कोटा, साहित्यकार एवम् सञ्चारकर्मी डा.नवराज लम्साल, बरिष्ट कलाकार बसुन्धरा भुसाल, सङ्गीतकार सन्तोस श्रेष्ठ, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता तथा चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय, अभिनेत्री खुस्बु खड्का, सारिका घिमिरे , गायक युवराज चौलागाई, सङ्गीतकार अर्जुन पोखरेललगायतले एल्बम सामुहिक रुपमा सार्वजनिक गरे ।

उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै गीतकार शान्तिप्रियले कृतिको माध्यमबाट पहिलोपटक आए पनि विभिन्न समयमा आफ्ना रचनाहरु प्रकाशनमा आइरहेको बताए । उनले आफूलाई नजिकबाट माया गर्नेहरुको जमघटमा गीतिएल्बम ‘अधर’ सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

प्रदीपकुमार उदयको सभापतित्व र सञ्चारकर्मी एवम् गीतकार नरेश भट्टराईले समन्वय गरेको उक्त कार्यक्रममा ‘अधर’ एल्बमभित्र समावेश स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने केक काटेर जन्मदिनको शुभकामना आदान–प्रदान गरिएको थियो ।

अधर एल्बमभित्र ‘म त माया गर्ने मान्छे‘’, ‘म त नफापेको मान्छे‘’, ‘मलाई जस्तो‘’, ‘उनको मेरो दूरी चल्यो‘’ र ‘याद तिम्रो धेरै आइरह्यो‘’ जस्ता पाँच गीत समावेश गरिएको छ । जसमा सन्तोष श्रेष्ठ, दिपक शर्मा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ भने प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल र युवराज चौलागाईंले स्वर दिएका छन् । कार्यक्रममा सवनम मुखियाद्वारा निर्दे्शित म त माया नफापेको मान्छे, सुव्रत आचार्यद्वारा निर्दे्शित मलाई जस्तो र निर्मल शर्माद्वारा निर्दे्शित म त माया गर्ने मान्छेको म्यूजिक भिडियो देखाइएको थियो ।

अतिथिहरु शान्तिप्रियलाई जन्म दिनको शुभकामना साथै एल्वमको सफलताको शुभकामना बधाई दिएका थिए । उनीहरुले शान्तिप्रियका गीतहरु मन छुने खालको र फरक धारका हुने धारणा राखेका थिए ।