कस कसले पाए एमालेबाट प्यूठानमा टिकट ! (उम्मेदवारको नामावाली )

0
596

जेठ २२ प्युठान नेकपा एमाले प्यूठानले जिल्लाका नौ वटै तहका उम्मेदवारहरु सार्वजनिक गरेको छ । सोमवार सदरमुकाम खलंगा समेत गर्ने मल्लरानी गाँऊपालिकाका उम्मेदवारहरुको घोषणासँगै सबै तहका उम्मेदवारहरुको अन्तिम टुंगो लागेको निर्वाचन पहिचालन कमिटिका संयोजक पुर्व सांसद वीरबहादुर सिंहले जानकारी दिए ।
एमालेका उम्मेदवारहरुमा पुराना नेताहरु देखि शिक्षक, पत्रकार, युवा, निर्माण व्यवसायी सम्म रहेका छन् । प्यूठान नगरपालिकामा जिल्ला कमिटिका अध्यक्ष समेत रहेका तुल्सिराम शर्मा मेयर र उपमेयरमा एमाले महिला नेतृ शान्ता आचार्य रहेकी छन् । स्वर्गद्धारी नगरपालिकामा एमालेका पुराना नेता नेत्रबहादुर रोकाय र उपमेयरमा महिला नेतृ गोमा रेग्मी क्रमशः मेयर र उपमेयरको उम्मेदवार भएका छन् ।
सदरमुकाम खलंगा समेत पर्ने मल्लरानी गाँऊपालिकामा प्यूठानका पुराना अगुवा पत्रकार इमानसिंह भारती प्रमुखका उम्मेदवार छानिएका छन् । उनले पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, सामुदायिक रेडियो प्रशारक संघ जस्ता सामाजिक क्षेत्रहरुको नेतृत्व गरिसकेका छन् । उपमेयरमा एमालेको पहिलो गाँऊकमिटि अध्यक्ष समेत रहेकी सरिता पोख्रेल भिड्दै छिन् । झिमरुक र नौबहिनी गाँऊपालिकामा निर्माण व्यवसायीहरु क्रमशः मानबहादुर जि.सी. र डिलाराम थापा प्रमुखका उम्मेदवार हुन् । झिमरुकमा देवा गिरी र नौबहिनीमा महिला नेतृ चित्रकलि बुढा उपमेयर छानिएका छन् । महिला उद्यमीका रुपमा परिचित बुढा राष्ट्रिय अल्लो उद्यमी संघको केन्द्रिय अध्यक्ष समेत हुन् ।
गौमुखी गाँऊपालिकामा एमालेका पुराना पाका नेताका रुपमा चिनिएका रतिमान राना प्रमुखका उम्मेदवार हुन् भने उपप्रमुखमा ज्ञानु के.सी. चुनावमी मैदानमा छन् । राना साविक अर्खा गाविसका निवर्तमान अध्यक्ष समेत हुन् । पाका नेताहरु मध्येकै टिकाबहादुर गुरुंग ऐरावती गाँऊपालिकाको प्रमुखमा भिड्दै छन् भने उपप्रमुखमा जिल्लाको बिकट क्षेत्र मानिने दाङवाङको प्रतिनिधित्व गर्दै बसन्ता आचार्य उम्मेदवार बनेकि छन् ।
चुनावी प्रतिष्पिर्धामा उत्रिनेहरुमा युवा पनि सहभागी छन् । एमालेको युवा संगठन युवा संघ नेपाल प्यूठान जिल्ला अध्यक्ष समेत रहेका श्रीधर रोका माण्डवी गाँऊपालिकाको प्रमुखका उम्मेदवार हुन् भने यहाँबाट उपप्रमुखमा सम्झना घर्तिलाई पार्टीले टिकट दिएको छ ।
माध्यमिक तहको अंग्रेजि विषयमा स्थायी शिक्षकबाट राजिनामा दिएर सरस्वती मावि हंसपुर चाभामा सहप्रचार्य रहेका झगबहादुर विश्वकर्मा सरुमारानी गाँऊपालिकाको प्रमुखका लागि चुनावी प्रचारमा होमिएका छन् । पुर्व–पश्चिम राजमार्गबाट प्यूठान भित्रने ‘ढोका’ समेत रहेको सरुमारानीको उपप्रमुखमा एमाले नेतृ मिना सोमै उम्मेदवार हुन् ।
राष्ट्रिय जनमोर्चासँगको तालमेलका कारण एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेको थिएन । उम्मेदवारीहरुको नामावली टुंगो लागेसँगै प्रचारप्रसार समेत शुरु भएको एमाले ५ नं. प्रदेशका सदस्य एवं जिल्ला कमिटि निवर्तमान अध्यक्ष हरिप्रसाद रिजालले जानकारी दिए ।