किन प्रत्येक दिन विमानस्थल धाउँछन् निर्वाचन अधिकृत ?

0
2439

काठमाडौं, २३ जेठ । बारम्बार अनेकौँ विवादमा परिरहने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा अचेल अनौठो दृष्य देख्न सकिन्छ। पाँच जना उपसचिव प्रत्येक दिन अध्यागमन शाखामा आउँछन्, हाजिर गर्दैनन्, सक्रिय भएर काम पनि गर्दैनन्, तर नियमित कर्मचारीझैँ उपस्थिति देखाइरहन्छन्।
गृहमन्त्रालयले काजमा अध्यागमनमा खटाएका यी पाँचै जना उपसचिवलाई निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन अधिकृत बनाएको छ। तर, कार्यस्थल नगई यी पाँचै जना नियमित विमानस्थलको अध्यागमन धाइरहेका छन्, त्यो पनि विना कुनै जिम्मेवारी। ६ उपसचिवको दरबन्दी रहेको विमानस्थल अध्यागमनमा अहिले नै आवश्यकभन्दा धेरै ७ उपसचिव खटिएका छन्। यी पाँचसमेत गर्दा १२ जना उपसचिवको भीड छ। शाखाका कर्मचारी खासखुस गर्छन्, कार्यस्थलमा नखटिई प्रत्येक दिन घुम्नकै लागि किन आउँछन् यति धेरै उपसचिव ?

यसरी अध्यागमन घुमघाम गर्ने उपसचिवहरु हुन्, पुष्पराज शाही, चेतराज बराल, हिरालाल चौधरी, दीपकराज नेपाल र विश्वप्रसाद न्यौपाने। आयोगले शाहीलाई अर्घाखाँची, बराललाई पाल्पा, चौधरीलाई रौतहट, न्यौपाने र नेपाललाई सिरहा खटाएको छ। उनीहरु भने कार्यस्थलमा एकाध दिन बसेर काठमाडौं फर्किए। नियमित कर्मचारी जस्तै गरी विमानस्थल अध्यागमन धाउँछन्। विमानस्थल अध्यागमनका प्रमुख होमनाथ थपलियाले उनीहरु आए पनि हाजिर र काम नगरेको बताए। ’उहाँहरु खाना खान मात्रै आउनुभएको होला, काम भने गर्नुभएको छैन,’ उनले भने ।

– कान्तिपुर दैनिकबाट