बटुवालाई बचाउँन खोज्दा सकियो २६ वर्षे प्रहरी जवानको जीवन

0
422

सुरुङ्गा (झापा), २३ जेठ । मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवास रहेका छन् ।

उनलाई गत जेठ १८ गते राति १० बजे पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो ।

सवारीको ठक्करबाट गम्भीर घाइते भएका खवासको उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका अपरिचित व्यक्तिलाई सडक पार गराउने क्रममा मोरङको डाँगीहाट–९ घर भएका प्रहरी जवान खवासलाई तीव्रगतिमा आएको नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएको थियो ।

प्रहरी जवानलाई ठक्कर दिएर सवारीसहित फरार चालकलाई प्रहरीले काँकडभिट्टाबाटै दुई दिनपछि नियन्त्रणमा लिएको बताइएको छ ।

घटनामा संलग्न भएको भन्दै मेचीनगरपालिका–७ निवासी ट्याक्सी चालक देवान राजवंशीलाई को १ च ८४५६ नम्बरको ट्याक्सीसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।