२०८२ कार्तिक २१ गते शुक्रबार
२०८२ कार्तिक २१ गते शुक्रबार

तिनकुने घटनाको रिपोर्टिङ गरेका पत्रकार दाहालमाथि झुटा मुद्दा, पत्रकार महासंघको कडा चेतावनी

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित विरोध प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ गरिरहेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहालविरुद्ध झुटा मुद्दा लगाइएको छ ।

दाहालविरुद्ध आपराधिक उव्द्रव र साङ्गठनिक अपराधसम्बन्धी गम्भीर अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सम्पादक दाहालले आफूले घटनास्थलमा “पत्रकारिताको धर्मअनुसार” मात्र रिपोर्टिङ गरेको दाबी गर्दै भनेका छन्, “मैले एक्सक्लुसिभ भिडियो खिचें, त्यसबाहेक मेरो कुनै संलग्नता थिएन। प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्न नसकेको कमजोरी ढाकछोप गर्न मलाई गलत रूपमा फसाइएको हो।”

उनले घटनास्थलमा खिचिएका तस्बिर र भिडियोहरू अनुसन्धानका प्रमाणका रूपमा प्रयोग गरिएको जनाउँदै, त्यसै आधारमा आफूलाई अभियुक्त बनाइएकोमा आपत्ति जनाएका छन्।

यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाअनलाइन टिभी पत्रकार संघ, नेपालले संयुक्त रूपमा कडा विरोध जनाएका छन्।

नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटिरहेका दाहालले संकलन गरेका प्रशस्त तस्बिर तथा भिडियो सामग्रीहरू सार्वजनिक घटनाको अनुसन्धानका लागि प्रयोग भइरहेको अवस्थामा लगाइएको यो आरोपलाई महासंघले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप र प्रहारको रुपमा लिएको छ ।

‘महासंघ यो हस्तक्षेपप्रति खेद प्रकट गदैं कडा आपत्ति प्रकट गर्दछ । र, घटनाको छानबिन गरी महासंघका सदस्य दाहालमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिई संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरणका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,’महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । 

 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्पादक दाहालमाथिको मुद्दा व्यक्तिगत अधिकारमाथिको हस्तक्षेप मात्र नभई स्वतन्त्र प्रेसमाथि नियोजित हमला हो।”

महासंघले सरकारलाई मुद्दा तत्काल फिर्ता लिन आग्रह गर्दै चेतावनी दिएको छ, “यदि मुद्दा फिर्ता लिइएन भने सम्पूर्ण पत्रकार समाज, नागरिक समाज र लोकतान्त्रिक मूल्यमा विश्वास राख्ने जनसमुदायको संयुक्त प्रतिवादका साथ संघीय तहमा संघर्ष सुरु गरिनेछ।”

वक्तव्यमा सरकारले पत्रकार सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुपर्ने, प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने संवैधानिक दायित्वको सम्मान गर्नुपर्ने र स्वतन्त्र पत्रकारितामाथि भएको आक्रमण फिर्ता लिनुपर्ने माग गरिएको छ।

अनलाइन टिभी पत्रकार संघले पनि विज्ञप्ति जारी गर्दै दाहालले स्वतन्त्र पत्रकारको हैसियतमा घटनास्थलबाट प्रत्यक्ष प्रसारणमार्फत आम नागरिकलाई तथ्यपरक जानकारी दिने प्रयास गरेको उल्लेख गरेको छ। “पत्रकारिताको धर्मअनुरूप गरिएको कार्यलाई अपराध ठहर गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीतको कार्य हो,” विज्ञप्तिमा भनिएको छ।

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण नेपाल सरकारको संवैधानिक दायित्व हो। स्वतन्त्र रिपोर्टिङ गर्ने पत्रकारमाथि आपराधिक अभियोग लगाइनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन र अभिव्यक्तिको अधिकारमाथि प्रत्यक्ष आक्रमणको रूपमा लिइएको छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।