आन्दोलनमा म्यादी प्रहरी : सरकारले तोकेजति रकम नपाएको गुनासो

0
1006

ललितपुर, २४ जेठ । स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असन्तुष्टि जनाएका छन्। सरकारले भनेजति तलब सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले मंगलबार प्रहरी परिसरमा नाराबाजी गरे। आफूहरूलाई ४९ हजार रुपैयाँ मात्र थमाएर पठाउन खोजिएको उनीहरूको गुनासो छ। प्रहरी पसिर ललितपुरका प्रमुख एसपी ठूले राईले भने सरकारले तोकेअनुसार नै तलब दिइएको दाबी गरे ।

म्यादी प्रहरीलाई तलब, विभिन्न शीर्षकका भत्तासहित कुल ५२ हजार २ सय ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए। आफूहरूले पाउनुपर्ने रकम ६१ हजार रुपैयाँ पुग्ने म्यादी प्रहरीको दाबी छ। जबकि प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको पत्रमा त्यति रकम दिइने उल्लेख छैन ।

कार्यालयको बजेट शाखाका अनुसार म्यादीलाई प्रहरी जवानसरह मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब तोकेको छ । अर्थात् ५५ दिनको सेवाबापत उनीहरूले ३१ हजार ५ सय ८८ रुपैयाँ पाउँछन् । त्यस्तै पोसाक खर्च ७ हजार एक सय, दैनिक २ सय पचास रुपैयाँका दरले ७ दिनको खाजा भत्ता र २ सय ५० रुपैयाँको दरले ७ दिनको विशेष भत्ता र एक हजार रुपैयाँ यात्रा खर्च दिने निर्णय गरेको थियो ।

रासन खर्चमा पनि सात दिनको भत्ता दिने व्यवस्था कार्यालयले गरेको छ। रासन खर्च जिल्लाअनुसार फरक हुने गर्छ । काठमाडौं उपत्यकासहित तीनै जिल्लाको रासन खर्च दैनिक एक सय ७५ रुपैयाँ तोकिएको छ । कार्यालयका अनुसार खाजा नखाने र नगदै लिनेका हकमा १५ प्रतिशत कर कट्टी गरिन्छ । यस्तै तलबमा पनि एक प्रतिशत कर कट्टी गरिन्छ ।