दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि संविधान संशोधन हुन्छ– प्रधानमन्त्री

0
500

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशी दलहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार बसेको व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आउँदो असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि संविधान संशोधन गर्ने विश्वास दिलाए ।

सबै दलहरुको सहभागितामा निर्वाचन सम्पन्न गर्ने उनको भनाइ छ ।राष्ट्रिय हितका लागि व्यापक सहमति र सहकार्यको आवश्यकता रहेको भन्दै उनले यसका सबै दलहरुलाई आह्वान समेत गरे ।

मधेशी, आदीवासी, जनजाति, दलितहरुको अधिकार सुनिश्चित गर्न सरकार दृढ रहेको भन्दै प्रधानमन्त्री देउवाले संविधान संशोधनमा सहयोग गर्न प्रमुख विपक्षी दल एमालेलाई आग्रह गरे ।

साथै मधेशवादी दलहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन गर्ने दोहोर्याए ।

राजविराज घटनामा मारिएकाहरुलाई शहीद घोषणा गर्ने, मृतकका परिवारलाई क्षेतिपूर्ति दिइनेलगायतका कार्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

समावेशी सिद्धान्त र सिस्टमलाई स्वीकारेर अघि बढ्नु पर्नेमा जोड दिएका उनले जनताको मत मार्फत प्रधानमन्त्री र राष्ट्रपति बनाउने सिस्टमले प्राथमिकता पाउनु पर्ने बताए ।