देउवालाई डडेल्धुराका जिल्ला सभापतिले पठाए चेतावनीपूर्ण पत्र

0
419

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा स्थानीय तह दोस्रो चरणको उम्मेदवारी चयनलाई लिएर चरम विवाद भएको छ ।

जिल्लामा विवाद सुल्झिन नसकेपछि देउवा सम्मै पुगेको छ । जिल्ला सभापति कर्ण मल्लले देउवालाई सम्बोधन गरेर चेतावनीपूर्ण ध्यानाकर्षण पत्र लेखेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा दर्ता पत्रको नम्बर ५१९ रहेको बताइएको छ । जिल्ला सभापति मल्लले हाम्राकुरासँग भने, ‘स्थानीय तहबाट आएको सिफारिस नमान्ने अवस्था आयो । २ सय ७४ पद मध्ये १ सय १९ सर्वसम्मत भइसकेका छन् । बाँकी पदमा जिल्ला समन्वय समितिले ३ हप्तासम्म लगातार छलफल गर्दा समेत टुंगो लाग्न सकेन ।’ जसले कार्यकर्ताहरु हतासमा छन् । पार्टी छोड्नेहरु समेत बढेका छन् ।

सभापति मल्लले अगाडि भने, ‘साथीहरु छैटौं जिल्ला अधिवेशनको तुस राखेर अघि बढेको देखियो । गुट उपगुटको असर परेको देखियो । असहज वातावरण बन्दै गएको छ । इमान्दार र सक्षम कार्यकर्ताहरु आन्तरिक दमनमा परेका छन् । नेतृत्व बेखबर छ ।’ केही साथीहरु पार्टी संगठन छोडेर गइसके ।

मैले उजुरु भन्दा पनि निवेदन दिएको हो, उनले भने, ‘आफै उम्मेदवारी घोषणा गरेर हिँडिरहेको पनि देखिन आएको छ । जिल्ला कार्यसमितिको सहमतिविना केन्द्रले उम्मेदवार निर्धारण गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका छौँ ।’
यस्तै, भ्रातृसंगठन र पेशागत संगठनहरुले समेत सभापति देउवालाई सुझाव सहितको पत्र लेखेका छन् । संगठनहरुले स्थानीय तहले आफै सिफारिस गरेका र छनोट गरेकाहरुलाई मान्यता दिइनु पर्ने भन्दै ४ बुँदे सुझावपत्र लेखेका हुन् ।