बजारमा पाँच सय र हजारको नक्कली नोट : यस्तो छ चिन्ने तरिका

0
909

काठमाडौं, २७ जेठ । बजारमा नक्कली नोट भेटिन थालेको भन्दै सचेत हुन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पाँच सय र हजार रुपैयाँको नक्कली नोट भेटिएको भन्दै राष्ट्र बैंकले सचेत हुन आग्रह गरेको हो ।

बैंकले सार्वजनिक सूचना निकालेर नक्कली नोटको कारोबार गम्भीर अपराध र ठगी भएको भन्दै सुरक्षित र भरपर्दो वातावरणमा मात्र नगद कारोबार गर्न पनि अपिल गरेको छ ।

यस्तै नक्कली नोटसम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जिल्ला प्रशासन लगायत सुरक्षा निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ । सक्कली नोटको कागजको गुणस्तर स्तरीय, खस्रो र हल्लाउँदा कडकड आवाज आउने हुन्छ ।

यसैगरी नोटको अगाडिको भागको दायाँतर्फ खाली ठाउँमा लालीगुराँस फूलको स्पष्ट छाप हुन्छ । नोटको बिच भागमा सुरक्षण धागो रहन्छ, त्यसमा सानो अक्षरमा एनआरबीले खिएको हुन्छ, सुरक्षण धागो कागजमै बुनिएको हुन्छ, माथिबाट टाँसिएको हुँदैन । नोटमा लेखिएका अक्षरलाई सुरक्षण धागोले छोपेको वा ढाकेको हुँदैन ।

नोटको अगाडिको बिचतिर एनआरबी अक्षरको आधा र पृष्ठभागमा त्यही एनआरबी अक्षरको आधाले खिएको हुन्छ । उज्यालोमा हेर्दा दुवैतर्फको अक्षर जोडिएर पूरै एनआरबी अक्षर बनेको देखिन्छ । तर बजारमा आएका नक्कली नोट यी मापदण्ड भन्दा फरक भएकाले ख्याल गर्न पनि सूचनामा भनिएको छ ।