नगरपालिका भित्रै एक गाग्री पानी ल्याउन ६ घण्टा !

0
754

जाजरकोट, २९ जेठ । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ । राज्यले नगरपालिका घोषण गरे पनि स्थानियले पानीको सुबिधा पनि पाएका छैनन् ।

घर नजिक पानीको सुविधा नहुँदा प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ ।

५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएको स्थानीय तिलबहादुर सार्कीले भन्नुभयो, पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् । यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उहाँले बताउनुभयो ।
तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताउनुभयो । गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् ।

जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउली लगायत बस्ती भने सधैँ काकाकुल बन्दै आएको छ । जस्ले राज्यलार्य गिज्याइरहेको भए पनि राज्य र स्थानिय जन प्रतिनिधिले आफ्ना भोटरलाई पानी समेत खुवाउन सकेका छैनन् ।