राष्ट्रपति भण्डारी आज स्विजरल्यान्ड जाँदै

0
557

काठमाडौं, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्यान्ड भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ । अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्यान्डको जेनेभामा आयोजना गर्न लागेको ’वल्र्ड अफ वर्क समिट’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ जान लाग्नुभएको हो ।

संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति नेतृत्वको ११ सदस्यीय टोली जेनेभा जान लागेको छ । राष्ट्रपति मंगलबार अपराह्न ५ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । गत साता सुरु भएको अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रकै दौरान ’वल्र्ड अफ वर्क समिट’ हुन लागेको हो ।

नेपालका अलावा मौरिसस र माल्टाका राष्ट्रपति पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । नयाँ संविधानमार्फत महिला तथा कामदारका हक, हित र अधिकार सुनिश्चित गरिएकोलगायत विषयमा राष्ट्रपति भण्डारीले अन्तर्रा्ष्ट्रिय समुदायलाई अवगत गराउनुहुने भएको छ । नेपालले अन्तर्रा्ष्ट्रिय श्रम संगठनको गभर्निङ बोर्डको उपसदस्यका लागि दिएको उम्मेदवारीमा समर्थन गर्न उहाँले अन्तर्रा्ष्ट्रिय समुदायलाई आह्वान गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारी भ्रमण सकेर आइतबार स्वदेश फर्किने कार्यक्रम छ । स्विजरल्यान्डमा रहँदा उहाँसँग आईएलओका महानिर्देशक गाई राइडरले भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आईएलओका महानिर्देशकले राष्ट्रपतिको सम्मानमा स्वागत समारोह आयोजना गर्नुहुने भएको छ । जेनेभास्थित नेपाली राजदूत दीपक धितालले राष्ट्रपतिको सम्मानमा स्वागत कार्यक्रम गर्नुहुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र सचिव शंकर वैरागी, राष्ट्रपतिकी निजी सचिव विमला राई, शिष्टाचार महापाल दीपक अधिकारी, परराष्ट्र सहसचिव भरतराज पौड्याललगायत ११ जना रहनुहुनेछ । सम्मेलनअन्तर्गत ’वल्र्ड अफ वर्क समिट’ मा जलवायु परिवर्तनका कारण कामदार, व्यवसाय र समुदायमा परेका असरबारे छलफल हुने आईएलओले जनाएको छ ।

नेपाल आईएलओको सदस्य बनेको ५० वर्ष पुगेको छ । नेपाल सन् १९६६ मा आईएलओको सदस्य बनेको थियो तर सरकारीतर्फबाट आईएलओको कुनै पनि कार्यकारी पदमा हालसम्म पुगेको छैन । राष्ट्रपतिको तेस्रो विदेशयात्रा हुन लागेको हो । यसअघि भण्डारी पहिलो विदेशयात्रामा छिमेकी भारत जानुभएको थियो । राष्ट्रपतिको दोस्रो भ्रमण श्रीलंकामा भएको थियो । गत महिना राष्ट्रसंघीय भेसाक दिवसमा सहभागी हुन उहाँ थाइल्यान्ड हुँदै श्रीलंका जानुभएको थियो ।