ट्रमा सेन्टरमा चिकित्सकको चरम लापर्बाही, करोडौं मूल्यका उपरकरण काम नगर्ने अवस्थामा

0
752

काठमाडौं, ३० जेठ । राष्ट्रिय ट्रमा सेन्टरमा सञ्चालन हुँदै आएका अत्याधुनिक उपकरणहरु सबै पड्किएका छन् । सेन्टरमा कार्यरत चिकित्सकहरुको लापर्बाहीका कारण बहुमुल्य उपकरणहरु पड्किएका हुन् । उपकरण पड्किँदा अत्यावश्यक सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

रेडियोलोजि विभागका एक कर्मचारीका अनुसार सेन्टरमा आवश्यक पर्ने सबै उपकरण पड्किएर कामै नलाग्ने अवस्थामा पुगेका छन् । बिरामीको चाँप अत्याधिक रहेको छ, उनले नाम नखुलाउने सर्तमा नयाँ पत्रिकासँग भने, ‘आइतबार सबै उपकरणहरु पड्किएका हुन् । विजुलीको भोल्टेज बढि भएर उपकरण पड्किएका हुन् । अत्यावश्यक उपकरण कामै नलाग्ने भएपछि अहिले हामी गम्भीर समस्यामा परेका छौ।’

विभागमा काम गर्ने कर्मचारीले काम सकिएपछि बत्ती बन्द नगरी जाँदा पावर घटबढ भएर सबै उपकरण जलेको उनले बताए । हामीले पटक–पटक उपकरणमा जडान भएको पावर काम सकेपछि बन्द गर्न आग्रह गर्दै आएका थियौं ती कर्मचारीले भने, ‘जति भन्दा पनि कर्मचारीले मानेका थिएनन् । आज त्यसकै परिणाम सबै उपकरण पड्किएका छन् ।’ उपकरणले काम नगरेपछि ट्रमा सेन्टरले सबै विरामी अरु अस्पतालमा रिफर गरेको छ । ट्रमा सेन्टरमा अहिले सिटि स्क्यान र एक्स–रे सेवा मात्रै सञ्चालनमा आएको छ।

गम्भीर विरामीको उपचार रोकियो

ट्रमा सेन्टरमा इमर्जेन्सीका लागि आएका विरामीहरुको उपचार रोकिएको छ । स्रोतका अनुसार कुनै पनि विरामीको रिपोर्ट हेर्न मिल्दैन । उपकरण पड्किएसँगै चिकित्सकहरु समस्यामा परेका छन् । ट्रमा स्रोतका अनुसार सिटि स्क्यानको रिपोटिङ गर्ने मनिटर, अल्ट्रासाउण्ड, डि.एस.ए (डिजिटल सपट्याक्सन एन्जियो ग्राम) लगायतका अत्यावश्यक उपकरणहरु कामै नलाग्ने गरि पड्किएका छन् । डि.एस.ए भारत सरकारले दिएपनि हालसम्म पूर्णरुपमा सञ्चालनमा आउन सकेको थिएन।

यस मेसिनबाट हृदयघात भएका मानिसहरुको मुटुको भल्व खोल्ने, टाउकाको नसा बन्द भएमा खोल्ने वा कुनै पनि शरिरका अंगहरु बन्द भएको बेला खोल्ने काम गरिन्छ । यो मेसिन ६ करोड बढि मुल्यमा ल्याइएको हो । महंगा र महत्वपूर्ण उपकरण सहित अन्य सामानहरु एकै पटकमा बिग्रँदा १५ करोड बराबरको क्षती भएको स्रोतको भनाई छ ।

प्रशासन र कर्मचारीको मिलेमतो
रेडियोलोजि विभागमै काम गर्ने केही कर्मचारीहरुले ट्रमा सेन्टरमा भएको घटनालाई प्रशासन देखि कर्मचारी बीचको मिलेमतो भएको आशंका गरेका छन् । स्रोत भन्छ, ‘चिकित्सकहरु समय अगावै आफ्नो नीजि क्लिनीकमा जाने र ट्रमा सेन्टरमा कम समय दिने गर्दै आएका थिए ।जसले गर्दा उपकरण प्रयोगमा आएपछि कहिल्यै बन्द हुँदैन थिए । उपकरण बिग्रिएसंगै त्यसलाई बनाउन भन्दा नयाँ खरिद गर्नु पर्ने पक्षमा प्रशासन देखिएको छ । यसले पनि कर्मचारी र प्रशासनबीच मिलेमतो भएको हुनुपर्छ ।’

निर्देशकको कमजोर प्रतिक्रिया
ट्रमा सेन्टरका निर्देशक प्रा.डा प्रामोद उपाध्यायले सबै उपकरण पड्किएर सेवा ठप्प भएको विषयमा कमजोर प्रतिक्रिया दिएका छन् । उनले नयाँ पत्रिकासँग भने, ‘मैले पनि पड्किएको भन्ने खवर पाएको छु । पछिल्लो समय रिपोर्ट भएको छैन । काम भइरहेको होला बिग्रिएका उपकरणहरु आज भोलिमा नै सञ्चालनमा आउने छन् ।’
-नयाँ पत्रिकाबाट