राजपा फकाउने कसरतमा सरकार : आज पनि दलहरुबीच छलफल हुँदै

0
493

काठमाडौं, ३१ जेठ । असार १४ गतेका लागि तोकिएको स्थानीय तह दोस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई सहभागि गराउने विषयमा दलहरुले आज पनि छलफल गर्दै छन् । चुनावअघि संविधान संशोधन हुनुपर्ने अडान लिएको राजपालाई मनाउन मुख्य दलहरुबीच आज पनि छलफल हुन लागेको हो । यसअघि हिजो प्रमुख विपक्षीसहित चार दलको बैठकले आज राजपालाई बोलाएर छलफल गर्ने निचोड निकालेको थियो । राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिवद्धता जनाए प्रदेश नम्बर २ र ५ को चुनाव फेरि सार्न सकिने सत्तारुढ दलहरुको संकेत छ ।

हिजो सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख विपक्षी एमालेका शीर्ष नेताको बैठकमा राजपाले उठाउँदै आएको मागको विषयमा छलफल भएको थियो । राजपाले लिखित प्रतिबद्धता जनाए चुनावपछि संविधान संशोधन लगायतका माग पूरा गर्न ठूला दल समेत लिखित प्रतिबद्धता जनाउन तयार भएका छन् ।

हिजोको बैठकमा राजपा चुनावमा आउन तयार भए असार १४ मा तोकिएको मिति केही दिन सार्न या प्रदेश नम्बर २ र ५ को चुनाव तेस्रो चरणमा गर्नेबारे पनि छलफल भएको छ । यद्यपि, प्रमुख विपक्षी एमालेले कुनै हालतमा पनि चुनाव सार्न नहुने बताउँदै आएको छ । चुनावको वातावरण बनाउने विषयमा राजपासहित मुख्य दलहरुको बैठक आज दिउँसो बोलाइएको छ ।