राजपा फकाउने अन्तिम कसरतमा सरकार : आज निर्णायक वार्ता

0
423

काठमाडौं, १ असार । राष्ट्रिय जनता पार्टीले संविधान संशोधनविना चुनावमा सहभागी नहुने अडान राखेपछि स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको दुई दिनअघि भएको प्रमुख दलहरूबीचको सहमतिको प्रयास विफल भएको छ ।

बुधबार साँझ सिंहदरबारमा बसेको सत्तारूढ कांग्रेस–माओवादी, प्रतिपक्षी एमाले र आन्दोलनरत राजापाबीचको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न नसक्ने बताएपछि विनानिष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावपछि संविधान संशोधन गराउने प्रतिबद्धता बैठकमा गर्नुभएको थियो । राजपा नेता महन्थ ठाकुरले संविधान संशोधन नभई आफूहरू चुनावमा सहभागी नहुने धारणा व्यक्त गरेपछि बैठक टुंगिएको हो ।

‘संविधान संशोधनविना कुनै पनि चुनाव हुन सक्दैन’, बैठकपछि ठाकुरले अन्नपूर्णसँग भन्नुभयो, ‘सरकार र प्रमुख दलहरूले हामीलाई पटक–पटक झुक्याउने कुरा भएको छ, अब हामी मान्नेवाला छैनौं ।’

बैठकको सुरुमै प्रधानमन्त्री देउवाले संविधान संशोधनका लागि तत्काल दुई तिहाइ संख्या नपुग्ने र चुनावको मनोनयनको समय आएकाले अहिले प्रस्ताव अघि बढाउन नसक्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले राजपाले भनेजस्तो स्थानीय तहको संख्या सरकारले बढाए पनि सर्वोच्चले अन्तरिम आदेशमार्फत रोकेकाले बढाउन नसकिएको धारणा व्यक्त गर्नुभएको थियो । तर, राजपा पुरानै अडानमा दाया–बायाँ नभएपछि सहमति पहल असफल भएको हो ।

बैठकमा एमाले नेता सुवास नेम्वाङले असार १४ को चुनाव कुनै हालतमा सार्न नहुने धारणा व्यक्त गर्नुभएको थियो । ‘असार १४ गते निर्वाचन सम्पन्न गर्नुपर्छ । त्यसको विकल्प छैन’, नेम्वाङले भन्नुभयो, ‘असार १४ को चुनाव सारियो भने चुनाव हुँदैन । सरकारको के हो सोचाइ ? यसमा सरकारको प्रतिबद्धता आउनुपर्छ ।’