च्याम्पियन्स ट्रफि क्रिकेट : पाकिस्तान पहिलोपटक फाइनलमा

0
581

काठमाडौं, १ असार । घरेलु टोलि इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तान पहिलोपटक आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको पहिलो सेमिफाइनलमा आयोजक तथा घरेलु टोलि इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो । वेल्सको कार्डिफमा इंग्ल्यान्डले दिएको २१२ रनको लक्ष्य पाकिस्तानले ३७ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । अब पाकिस्तानले उपाधिका लागि बंगलादेश र साबिकको बिजेता भारतबिचको बिजेतासँग खेल्ने छ । बंगलादेश र भारतबिचको खेल बिहिबार हुने छ ।

इंग्ल्यान्डले दिएको मध्यम लक्ष्य सहजै पुरा गर्ने क्रममा पाकिस्तानका लागि ओपनरद्वय अजहर अली र फखर जमानले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरे । अलिले १ सय बलमा ५ चौका र १ छक्काको मद्दतमा ७६ तथा फखर जमानले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पाकिस्तानका बाबर आजम ३८ तथा मोहम्मद हाफिज ३१ रनमा अविजित रहे । इंग्ल्यान्डका जेक बल र अदिल रशिदले समान एक एक विकेट लिए ।

यसअघि सोफिया गार्डेनसमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४९ ओभर ५ बलमा अलआउट हुदैँ २११ रन बनाएको थियो । इंग्ल्यान्डका जोय रुटले ४६, जोनी ब्रेसट्वोले ४३ तथा बेन स्टोक्सले ३४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै इंग्ल्यान्डका कप्तान इयान मोर्गनले ३३ रन बनाउदा एलेक्स हेल्सले १३ रन जोडे । पाकिस्तानका हसन अलीले ३ तथा जुनेद खान र रुममान रईसले समान २ – २ विकेट लिए ।

योसँगै पाकिस्तान पहिलोपटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्न सफल भएको छ । यस्तै आइसीसीको एकदिवसीय वरियताको आठौं स्थानको पाकिस्तान १८ बर्षपछि पहिलोपटक आइसीसीले आयोजना गर्ने एकदिवसीय प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । पाकिस्तान सन् १९९९ को विश्वकपपछि पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो ।

प्रतियोगिताको समूह चरणमा समूह ‘बी’ मा रहेको पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै घरेलु टोलि इंग्ल्यान्ड समूह ए को बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।