कक्षा ११ को परीक्षा आजदेखि

0
735

काठमाडौं, १ असार । कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षामा नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरि देशभरबाट कुल ४ लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार १७२ रहेको छ ।

सबै भन्दा धेरै परीक्षार्थी काठमाडौंमा ६४ हजार ५६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना छन् । काठमाडौंमा १११ र मनाङ् र मुस्ताङ्मा १–१ केन्द्र निर्धारण गरिएको छ ।

हरेक परीक्षा केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, १ हजार ९६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९१३ जना निरीक्षक, १ हजार ५७४ जना कर्मचारी, २ हजार १७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५३२ जना परिचालन गरिएको नियन्त्रक बतासले बताउनुभयो ।