निजामती कर्मचारी पनि आन्दोलनतिर

0
1565

काठमाडौं, २ असार । सरकारले कर्मचारीसँग सम्बन्धित समायोजन तथा व्यवस्थापनसम्बन्धी विधेयक र संघीय निजामती सेवा ऐनलगायतका महत्वपूर्ण विषयमा ट्रेड युनियनसँग छलफल नै नगरी एकलौटी अगाडि बढाएको भन्दै निजामती कर्मचारीसँग सम्बन्धित विभन्न संघ संगठनले आपत्ति जनाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले संयुक्त प्रेश विज्ञप्ति निकालेर संसदमा विचाराधीन रहेको कर्मचारी समायोजन तथा व्यवस्थापनसम्बन्धी विधेयक र मस्यौदाकै क्रममा रहेको संघीय निजामती सेवा ऐनमा ट्रेड युनियनसम्बन्धी व्यवस्था अहिलेको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिन माग गरेको छ ।

यस्तै, बढुवाका लागि न्यस्नतम योग्यता पुगेका कर्मचारीहरूलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गर्दा एक श्रेणी बढुवासहितको व्यवस्था गर्न, समायोजन गर्दा हालको पदको जेष्ठतालाई पहिलो प्राथमिकता दिन र समायोजन भएको कर्मचारीलाई ३५ दिनभित्र हाजिर हुन नगएमा बर्खास्त गर्ने र ऐन जारी भएको एक वर्षसम्म पदपूर्ति नहुने भन्ने व्यवस्था खारेज गर्न पनि माग गरेको छ । माग पूरा नभएमा ट्रेड युनियन अधिकारको रक्षा र पेसागत हकहितका लागि आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।