बल्ल पाउने भए भूकम्पपीडितले ट्याक्सी

0
386

काठमाडौं, ३ असार । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका पीडितहरुले ट्याक्सी पाउने भएका छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई गोलाप्रथामार्फत असार ७, ८ र ९ गते सरकारले ट्याक्सी उपलब्ध गराउने भएको हो ।

०७२ जेठ २८ गते सरकारले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरे पनि मन्त्रालय तथा विभागको प्रविधिक तयारीको ढिलाइका कारण ट्याक्सी वितरण प्रक्रिया लम्बिँदै आएको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायाण भट्टराई सुरक्षा अभावका कारण ट्याक्सी वितरण मिति सारिएको बताउँछन् । “दुई चरणमा निर्वाचन हुने सरकारको निर्णयले ट्याक्सी वितरण मिति सारिएको हो,” सुरक्षाकर्मीहरु पहिलो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रित भएकाले ट्याक्सी वितरणमा सुरक्षाकर्मीको अभाव रहेकाले वितरण मिति सारिएको बताउँदै भट्टराईले भने, “पहिलो चरणको निर्वाचन सकिएकाले ट्याक्सी वितरण प्रक्रिया अगाडि बढाइएको हो ।”

यसरी गरिँदै छ वितरण

भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वितरण गरिने ट्याक्सीको संख्याको करिब एक सय गुणा माग भएपछि यसको वितरण गोलाप्रथाका माध्यमबाट गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

भूकम्प अति प्रभावित जिल्लामध्ये क्षेत्रफल र जनसंख्याका आधारमा ठूला र साना जिल्लाका प्रभावितहरुबाट ट्याक्सी माग गरिने र यसलाई कसरी वैज्ञानिक बनाइने भन्नेबारे यातायात व्यवस्था विभागले स्पष्ट तयारी गरिसकेको पनि पाण्डेले बताए ।

ट्याक्सी वितरण प्रणाली सहज बनाउन सरकारले माग गरेको १५ सय संख्याले आवेदन परेको १ लाख ४९ हजार ५ सय संख्यालाई भाग गरी आएको भागफललाई प्रत्येक जिल्लाको छुट्टाछुट्टै माग संख्याले गुणन गरी आएको उत्तर बराबरका ट्याक्सीहरु प्रत्येक जिल्लाको भागमा पर्नेछन् ।
“प्रत्येक जिल्लामा समान अनुपातमा ट्याक्सी वितरण हुन सकोस् भनेर यस्तो प्रणाली अपनाइएको हो,” पाण्डेले बाह्रखरीसँग भने, “यसो गर्दा वितरण प्रणाली चुस्त र वैज्ञानिक हुनजान्छ ।”

कुन जिल्लालाई कति गते ?
१४ जिल्लाका भूकम्पपीडितलाई छुट्टाछुट्टै मितिमा ट्याक्सी वितरण गरिने व्यवस्था यातायात व्यवस्था विभागले मिलाएको छ । जसमा काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापका पीडितलाई ४ सय ९१ वटा ट्याक्सी असार ७ गते, दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई ५ सय १३ वटा ट्याक्सी ८ गते त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितलाई ९ गते ४सय ९६ वटा ट्याक्सी च्यासल फुटबल ग्राउण्ड ललितपुरबाट बिहानको ८ बजेबाट ट्याक्सी वितरण सुरु गरिने प्रवक्ता पाण्डेले बताए ।