प्लस टुमा कुन विषय पढ्न कति जीपीए अथवा ग्रेड कुन चाहिन्छ ?

0
958

काठमाडौं, ४ असार । रुकुमका एक विद्यार्थी ’साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फारम भर्न पुगे । उनले २.८ जीपीए ल्याएका रहेछन्। अनिवार्य नेपालीमा भने ग्रेड डी मात्र। ’उनी पढेको स्कूलले साइन्स पढ्न योग्य भनेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, ’कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हनुपर्ने भन्नेबारे शिक्षा मन्त्रालयले आधार सार्वजनिक नगर्दा विद्यार्थीमात्र होइन, हामी पनि अन्योलमै छौँ।’

जीपीएका आधारमा विज्ञान पढ्न २.० जीपीए ल्याए हुन्छ, तर विषयगत आधारमा नेपालीमा डी प्लस ल्याउने पर्छ। उनले नेपालीमा डी प्लस नहुँदा विज्ञान पढ्न योग्य भएनन् ।
यदि ग्रेड वृद्धि परीक्षामा उनले नेपालीमा डी प्लस ल्याए भनेमात्र विज्ञान पढ्न पाउने छन्। उनी त उदाहरणमात्र हुन्, कति

ल्याउँदा के पढ्न पाउने भन्ने जानकारी नभएर यस्तै समस्यामा परेका विद्यार्थीको संख्या धेरै छ। के पढ्न कति जीपीए चाहिन्छ त ?
–विज्ञान समूह अध्ययन गर्न २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस तथा नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस
–व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस
–मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस
–प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस –इञ्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी तथा अंग्रेजीमा डी प्लस
– कृषि पढ्न अंग्रेजी, गणित र विज्ञानमध्ये एउटामा कम्तिमा डी प्लस