नेपाल–भारत सीमा नाका ४ दिन बन्द

0
1320

काठमाडौं, ४ असार । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्ने भन्दै चार दिन सीमा नाका बन्द हुने भएका छन् । सीमा तालिमप्राप्त कुकुर परिचालन गरिने भएको छ ।

अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालिमप्राप्त कुकुरले सुँघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालिमप्राप्त कुुकुर परिचालन हुनेछन् । यसअघि हप्तामा कम्तीमा दुर्ई दिन तालिमप्राप्त कुकुर ल्याएर चेकजाँच गरिने भए पनि अहिले भने दैनिक चेकजाँच गर्न थालिएको छ ।

भारतसँग सीमानाका जोडिएको जिल्लाहरू भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११ देखि १४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरिसकेको छ ।

लागूऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुवै देशले विशेष निगरानी बढाउने जनाएको छ । नेपालका महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रअिजसहित सुरक्षा निकायका प्रमुख र भारतका मधुवनी जिल्लाका डिएम, एसपी, एसएसबीका एसपीसहितको उपस्थितिमा केही दिनअघि बसेको सो बैठकमा आउँदो असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सीमा नाका बन्द गर्ने निर्णय भएको हो ।

स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचन सुरक्षाको सबै प्रक्रिया पूरा भइसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार हुने उम्मेदवार मनोनयन तथा त्यसपछिको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको हो । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेका अनुसार आइतबार हुने मनोनयन दर्ता त्यसपछिको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘मन्त्रालयले तयार पारेको सुरक्षा योजनाअनुसार नै सुरक्षा निकाय परिचालन भएकाले सुरक्षा व्यवस्था सुदृढ र मजबुत रहेको छ सबै मतदान केन्द्रहरू सुरक्षित हुनेछन, जनताले भयरहित वातावरणमा मतदान गर्न पाउनेछन्,’ प्रवक्ता काफ्लेले भने ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कर्मचारीहरू खटिएका छन् । राष्ट्रिय जनता पार्टीले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेसँगै उसको प्रभाव रहेका जिल्लाहरूमा थप मद्दती सुरक्षाकर्मी तैनाथ गरेर राखेको छ भने अन्य जिल्लाका विप्लव माओवादीले बहिष्कार गरेपछि पहाडी जिल्लाको सुरक्षालाई पनि मन्त्रालयले चासो दिएको छ ।

पहिलो चरणको निर्वाचनबाट आएका केही सुझावलाई ध्यानमा राखेर स्थानीय तहमा खटिएका कर्मचारीलाई यसपटक विशेष अधिकारसमेत दिइएको छ । परिस्थिति नियन्त्रणभन्दा बाहिर गए स्थानीय कमाण्डरको स्वविवेकले त्यहाँको परिस्थितिलाई नियन्त्रणमा लिन सक्नेछन ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार निर्वाचन हुने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका छन् । निर्वाचन अधिकृतसँग सुरक्षाकर्मीहरू खटिएका हुन् । ‘सुरक्षा हिसावले केही संवेदनशील मानिएका क्षेत्रमा नजिकको कमान्ड पोस्टबाट मद्दतीफौज तयारी अवस्थामा राखिएको छ, बाँकी समान्य रहेको क्षेत्रमा सुरक्षाका सबै निकायको भरपर्दो उपस्थिति रहेको छ,’ उनले भने । त्यसैगरी सशस्त्र प्रहरीले सबै जिल्लामा अस्थायी पोस्ट खडा गरेर परिचालन भइसकेको छ भने मतदान केन्द्रको सुरक्षाका लागि स्थायी प्रहरीसँग समन्यव गरेर परिचालन भएको छ ।