असार २३ काठमाण्डौ । वैदेशिक रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य रहेको कतारमा उत्पन्न पछिल्लो संकटसँगै त्यहाँ जाने कामदारहरुको संख्या गत एक महिनामा उल्लेख्य रुपमा घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।
गत एक महिनामा कतार जाने श्रमिकको संख्या झन्डै ४० प्रतिशतले घटेको अधिकारीहरुले जनाएका छन्।
आन्तरिक संकटका कारण कतारबाट नयाँ रोजगारीका मागहरु समेत आउन छाडेको नेपाली अधिकारीहरु बताउँछन्।
रोजगारीको अनिश्चितता वा द्वन्द्व बढ्न सक्ने आशंका जस्ता कारणले श्रम स्वीकृति लिइसकेका कामदारहरु समेत कतार जान हिचकिचाउन थालेको बताइएको छ।
चार महिना लामो छुट्टी मनाउन आएका महोत्तरीका मोहम्मद अख्तर बिदा सकेपछि कतार जाने श्रम स्विकृती लिन ताहाचालस्थित वैदेशिक रोजगार विभागमा बिहीबार पुगेका थिए।
तर गत महिनादेखि कतार र उसका छिमेकी देशहरुबीचको सम्बन्ध बिग्रिएको कारण आफ्नो जागिरमा असर पर्ने चिन्ताले उनी ढुक्क हुन सकेका छैनन्।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कतारविरुद्ध साउदी अरेबिया र संयुक्त अरब एमिरेट्स लगायत अन्य छिमेकीले नाकाबन्दी लगाउनु अगाडी त्यहाँ एक महिनामा सरदर १० हजारको हाराहारीमा नेपाली कामदारहरु जाने गर्दथे।
तर पछिल्लो एक महिनामा त्यो संख्या झन्डै ६ हजारमा झरेको छ।
वैदेशिक रोजगार विभागको कतार शाखाका अधिकृत हिमालय जिवी उपाध्यायका अनुसार कतार जान चाहने श्रमिकको सख्या दिन प्रतिदिन घटिरहेको छ।
उनी भन्छन्, कतारमा समस्या भएपछि कामदार पठाउने क्रम एकदम घटेको छ, पहिला दैनिक ५०० देखि ६०० को संख्यामा कामदारहरु कतार जाने गरेका थिए भने अहिले त्यो १५० को हाराहारीमा झरेको छ।