राष्ट्रपति कार्यलयको स्पष्टोक्ती, गाडी चाहिएको हो मुल्य थाहा छैन !

0
351
असार २७ काठमाण्डौं । राष्ट्रप्रमुखका लागि महँगा विलासी गाडीहरु खरिद गर्न लागिएको भन्ने विषयले व्यापक विवाद निम्त्याएपछि राष्ट्रपति कार्यालयले मूल्य तोकेर सवारी साधन किन्नका लागि प्रस्ताव नगरिएको भन्दै आफ्नो बचाउ गरेको छ।
यद्यपि उक्त कार्यालयले अहिले राष्ट्रपतिले प्रयोग गरिरहेको गोली नछिर्ने बुलेटप्रुफ गाडी बिग्रिरहने गरेको भन्दै त्यस्तै खालका तीनवटा गाडी चाहिएको बताएको छ।
सोमबारै प्रधानमन्त्रीले पनि संसदमा राष्ट्रपति कार्यालयकै जस्तो धारणा राख्दै राष्ट्रपतिलाई नयाँ सवारी साधन आवश्यक रहेकोतर्फ संकेत गरे।
तर समाजको एउटा कोणबाट राष्ट्रपतिका लागि थप महँगो गाडी खरिद गर्नु आवश्यक नभएको भन्दै तीखो आलोचना भएको छ।
राष्ट्रपति कार्यालयका अधिकारीहरुका अनुसार अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गर्नका लागि एउटामात्रै बुलेटप्रुफ गाडी छ।
त्योपनि पटकपटक बिग्रिरहने गरेकाले नयाँ गाडी खरिदका लागि आफूहरुले प्रस्ताव गरेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल बताउँछन् तर कुनै निश्चित बजेट तोकेर गाडीको माग नगरिएको उनको भनाइ छ।
छापाहरु र सामाजिक सञ्जालमा पोखिएको राष्ट्रपतिको नयाँ गाडीसम्बन्धी विवादले संसदमा पनि प्रवेश पायो।
महँगा गाडी खरिदको प्रक्रिया थाल्न लागेको भन्दै सरकारको व्यापक आलोचना भएपछि रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति र सरकारको बचाउ गर्दै जवाफ दिएका थिए।
प्रधानमन्त्री देउवाले भने, राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन। तर राष्ट्रप्रमुखको सुरक्षा हाम्रो दायित्व हो। त्यसका लागि चाहिने बुलेटप्रुफ गाडीहरु किन्नुपर्ने हुनसक्छ ।
देउवाको यो भनाइलाई कतिपयले नयाँ बुलेटप्रुफ गाडी खरिद गर्ने सरकारी तयारीका रुपमा अर्थ्याएका छन्।