चितवनमा डेंगु आतंक ,सर्तक रहन चिकित्सकको सुझाव !

0
696

चितवन ३ साउन । रत्ननगर र खैरहनी नगरपालिकाको बजार क्षेत्रका ६९३ घरका बासिन्दामा डेंगु पोजेटिभ पाइएको छ । हालै जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न चलाएको घरदैलो अभियानका क्रममा यस्ता संक्रमित पाइएको हो ।

कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले असार १८ देखि २० गतेसम्म सञ्चालन गरिएको उक्त अभियानबारे जानकारी दिँदै यहाँका आठ हजार ७९७ घरमा गरिएको अनुगमनमा ६९३ घरमा डेंगु पोजेटिभ पाइएको बताउनुभयो ।

रत्ननगरमा आठ हजार ३३० घरमध्ये ५३५ र खैरहनीको एक हजार ४६७ घरमध्ये १५८ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा फेला परेको प्रतिवेदनमा जनाइएको छ ।

विभिन्न घरमा डेंगु सार्ने एडिस एजेप्टाइ नामको लामखुट्टेका लार्भा र प्युपा पाइएको भन्दै केसीले अन्य घरमा समेत यसले रोग सार्ने सक्ने भएकाले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।
सो क्षेत्रमा भेटिएका लार्भा स्वयंसेविकाले नष्ट गरेको र फेरि विभिन्न भाँडाकुडाँमा एक हप्तासम्म पानी जमेमा लार्भा हुर्कने र डेंगु रोग लाग्न सक्ने भएकाले यसतर्फ ध्यान दिन कार्यालयले सुझव दिएको छ ।

रत्ननगरकी स्वयंसेविका ज्ञानु वाग्लेले नगरपालिकाभित्रै पनि लामखुट्टेका लार्भा र प्युपा फेला परेको जानकारी दिनुभयो । अघिल्लो वर्ष रत्ननगर नगरपालिकामा डेंगुको प्रकोप फैलिएकाले यहाँ डेंगु रोक्न पूर्वतयारी स्वरुप अभियान चलाइएको हो ।

डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न नदिन चिकित्सकले आग्रह गरेका छन् ।

रोग नियन्त्रणको प्रभावकारी माध्यम नै खोजेर नष्ट गर्ने भएकाले उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो । आव २०७२÷७३ मा ८५ जनामा रोग देखिँदा एक जनाको मृत्यु भएको थियो ।
चालु आर्थिक वर्षमा ६८७ जनामा रोग देखिँदा एक जनाको ज्यान गएको तथ्याँक छ ।