विष्णुमती सफाइको जिम्मा जनप्रतिनिधीलाई ।

0
400

काठमाडौँ, ५ साउन । विष्णुमती सफाइ अभियानको १५० हप्तादेखि सफाइलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवारी दिइने भएको छ ।

वडाको नदी क्षेत्रमा वडालाई जिम्मेवारी दिई सफाइ अभियान अघि बढाउन लागिएको हो । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विसं २०७१ जेठ ५ गतेदेखि विष्णुमती सफाइ अभियान सुरु भएको थियो ।

साउन ७ गते शनिबार सफाइले १५० हप्ता पूरा गर्दैछ । त्यसै दिनदेखि नदीको वडा क्षेत्रमा जुन नगरपालिकाको वडा पर्छ, त्यही नगरपालिकालाई जिम्मा दिई सफाइ अभियान अघि बढाउन लागिएको सफाइ अभियानका प्रवक्ता उमेश बोहराले बताउनुभयो ।

स्वयंसेवा र वातावरण संरक्षणका लागि सरकार एवं नागरिकको संयुक्त प्रयासमा सञ्चालित विष्णुमती सफाइ अभियानबाट करिब एक हजार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । साउन ७ गते शनिबारको १५० औँ हप्ताको अवसरमा गोंगबु नयाँ बसपार्क क्षेत्रमा सफाइ गरिने भएको छ ।

विष्णुमती बग्ने क्षेत्रमा बूढानीलकण्ठ, टोखा, तारकेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका पर्दछन् । चारवटै स्थानीय तहका जनप्रतिनिधिलाई वडा क्षेत्रमा पर्ने नदी सफाइको जिम्मेवारी दिने तयारी पूरा भएको प्रवक्ता बोहराले बताउनुभयो ।

एकसय ५० हप्ताको कार्यक्रमका अवसरमा साउन ७ गते बिहान ७ बजेदेखि ९ः३० बजेसम्म सफाइसम्बन्धी तस्बिर प्रदर्शनी पनि गरिने सफाइ अभियानले जनाएको छ । सो अवसरमा विष्णुमती नदी, चक्रपथ र नयाँ बसपार्क क्षेत्रमा पनि सफाइ गरिनेछ ।