प्रधानमन्त्री देउवाको निर्देशनपछि राजधानीका ज्यानमारा सडकको पुनःस्थापना सुरु ।

0
823

काठमाडौँ, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना सुरु भएको छ ।

सडक दूरवस्थाका कारण उपत्यकामा एक बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री देउवाले साउन १ गते आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाई १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए । जसको समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा संयन्त्र पनि गठन गरिएको छ ।

मेलम्ची आयोजनाबाट प्राप्त हुने पानी वितरणका लागि काठमाडौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याएको थियो । मनसुन सुरु भइसकेकाले थप ठाउँमा पाइपलाइनको कार्य गर्दा सर्वसाधारण तथा सवारी साधनको आवागमनमा असर पर्ने भएकाले निर्देशनालयले बाँकी सडकखण्ड खन्न पूर्णरुपमा बन्द गरेको छ । निर्देशनालयले थोक वितरण प्रणालीका लागि ६० दशमलव ६ किलोमिटर पाइपलाइन बिच्छ्याउनुपर्नेमा हालसम्म पानी पोखरीहरुसम्म पानी प्रवाहका लागि महत्वपूर्ण ५१ दशमलव ५ किलोमिटरको काम सकेको छ । त्यसैगरी, वितरण सञ्जाल सुधारका लागि ६७० किलोमिटर पाइपलाइन विस्तार गर्नुुपर्नेमा हालसम्म ६१० किलोमिटर पाइपलाइन बिच्छ्याइएको छ । उपत्यकामा पानी वितरण गर्न पानी भण्डारणका लागि महांकालचौर, पानीपोखरी, बाँसबारी, टिग्नी, बालाजु र खुमलटारका पानी पोखरीको काम सकिएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि निर्देशनालयले काठमाडौँका विभिन्न स्थानमा निरीक्षण गरी बिग्रिएका सडकलाई तुरुन्तै मर्मत गर्न चासो दिएको हो ।