Home banner news रुससंगको इमेल काण्डका दोशीलाई माफी दिने अधिकार आफुसँग भएको राष्ट्रपति ट्रम्पको दावी...
साउन ८ काठमाण्डौं बिबिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग रहेको बताएका छन्।
चुनावी अभियानका क्रममा रुससँग साँठगाँठ गरेको प्रमाणित भए उनले आफ्ना परिवारका सदस्य, सहयोगी र स्वयं आफूलाई माफी दिने तयारी गरेको विवरणहरु आएपछि ट्रम्पको पछिल्लो भनाइ आएको हो।
विपक्षी डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले पछिल्ला विवरण अति निराशाजनक रहेको प्रतिक्रिया दिएका छन्।
अमेरिकी अधिकारीहरुले ट्रम्प समूह र रुसबीचको सम्भावित साँठगाँठबारे अनुसन्धान गरिरहेका छन्।
गुप्तचर निकायहरुले रुसले ट्रम्पलाई शक्तिमा पुग्न सहयोग गर्ने प्रयत्न गरेको ठान्छन्।
रुसले चुनावमा हस्तक्षेप गरेको भन्ने आरोपहरु अस्वीकार गर्ने गरेको छ र राष्ट्रपति ट्रम्पले पनि कुनै साँठगाँठ नरहेको प्रष्टीकरण दिदैँ आएका छन्।
बिहीबार द वाशिङटन पोष्ट अखबारले राष्ट्रपति ट्रम्प र उनको समूहले आफू निकटका व्यक्तिहरुलाई कसरी माफी दिने भन्ने उपाय खोजिरहेको खबर प्रकाशित गरेको थियो।
अमेरिकीमा अपराध प्रमाणित हुनुअघि वा कुनै फौजदारी अभियोग लगाइनुअघि राष्ट्रपतिले माफी दिनसक्ने व्यवस्था छ।
ती विवरणहरु प्रति चिन्ता जनाउँदै डेमोक्रयाट सिनेटर मार्क वार्नरले दोषीलाई माफी दिने निर्णयले लक्ष्मण रेखा उल्लंघन गर्ने जनाएका छन्।
शनिबार ट्रम्पले ट्वीटरमा लेखेका छन्, अमेरिकी राष्ट्रपतिसँग माफी दिने पूर्ण अधिकार हुन्छ भन्नेमा सबै जना सहमत छन् तर अहिले त्यसबारेमा किन सोच्ने ? किनभने अहिले हामी विरुद्ध सूचना चुहाइनु चाँहि अपराध हो। झुठो समाचार।
ट्रम्पले आफ्ना महान्यायाधिवक्ताले चुनावी अभियानसँग सम्बन्धित विषयबारे रुसी राजदूतसँग छलफल गरेको भन्ने समाचारको पनि आलोचना गरेका छन्। द वाशिङटन पोष्टुले महान्यायाधिवक्ता जेफ सेसन्सले अमेरिकाका लागि रुसी राजदूत सर्गेइ किस्ल्याकसँग भेटघाट गरेको र त्यसक्रममा सेसन्सले चुनावका मुख्य मुद्दाहरु र ट्रम्प प्रशासनको रुस नीतिका बारेमा छलफल गरेको गुप्तचर निकायहरुलाई उदृत गर्दै विवरणहरु छापेको थियो।
Post Views:
9,300