सिरियाको पुर्वी क्षेत्रमा युद्ध बिरामको घोषण,शान्ती स्थापना गर्न रुस सफल ।

0
510
साउन ८ काठमाण्डौं बिबिसी । सिरियाली सेनाले राजधानी दमास्कस नजिकैको विपक्षी नियन्त्रित पूर्वी गुटा क्षेत्रमा शत्रुता समाप्तिको घोषणा गरेको छ।
उक्त क्षेत्रमा द्वन्द्व कम गर्न रुसले विद्रोहीहरुसँग सहमति गरेको घोषणा भएलगत्तै सिरियाली सेनाको पछिल्लो कदम आएको छ।
रुसले सिरियाली राष्ट्रपति बसर अल असदलाई सघाउँदै आएको छ।
मस्कोले भनेको छ, सम्झौता अनुसार सुरक्षित इलाका हुने भनिएका क्षेत्रको सिमाना परिभाषित गरिएको छ।
यसैगरी लडाइँ कम गर्न फौज खटाउनेबारेको योजना पनि उक्त सम्झौतामा उल्लेख गरिएको बताइएको छ।
तर धेरै विद्रोही समूह पूर्वी गुटामा सक्रिय रहेकाले पछिल्लो सम्झौता कार्यान्वयन होला वा नहोला भन्नेमा अझै अस्पष्टता छ।
उक्त क्षेत्र राजधानीबाहिरको महत्वपूर्ण विद्रोही पकड इलाका हो।
विद्रोहीहरुले भने अझै प्रतिक्रिया जनाइसकेका छैनन्।
बीबीसीका मध्यपूर्व सम्पादक एलन जोनस्टन भन्छन्, विद्रोहीको धारणा आइनसकेकाले लडाइँ कम गर्ने प्रक्रियाले कसरी काम गर्छ भन्नेबारे यकीन भइसकेको छैन।
सिरियाली सेना र उसको सहयोगी लेबननी उग्रवादी समूह हेज्बुल्लाहले सीमा क्षेत्रमा विद्रोहीहरुविरुद्ध संयुक्त आक्रमण गरेको अधिकारीहरुले बताएका छन्।
हेजबुल्लाह समर्थक सञ्चारमाध्यमका अनुसार इस्लामिक स्टेट समूह र अल कायदाका पूर्व समर्थकसहित करिब १ हजारजना उग्रवादीविरुद्ध आक्रमण केन्द्रित छ।
उक्त कारबाहीका कारण नजिकै रहेको लेबननस्थित आरसालका सिरियाली शरणार्थीहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त भएका छन्।
पछिल्लो कारबाहीसँगै आफूहरुले विद्रोहीहरुविरुद्ध जित हासिल गरिरहेको हेज्बुल्लाहले जनाएको छ।
यसैसाताको शुरुवातामा लेबननी प्रधानमन्त्रीले आरसालस्थित शरणार्थी शिविरलाई सुरक्षित स्थलको रुपमा प्रयोग गरिरहेका उग्रवादीहरुविरुद्ध लेबननी सेनाले आफ्नै खालको कारबाहीको तयारी गरिरहेको बताएका थिए।
गत महिना सेनाले शरणार्थी शिविरमा संदिग्धहरु तथा हतियारको खोजी गर्दा विस्फोटक पदार्थ बोकेका पाँच उग्रवादीले आफैलाई विस्फोट गराएका थिए।
सन् २०११ मा द्वन्द्व भड्किएयता दशौं हजार सिरियाली शरणार्थी आरसाल पुगेका छन्।