एक बर्षमा चार अर्ब ८० करोड बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात !

0
1093

काठमाडौँ, ८ साउन । आर्थिक वर्ष २०७३÷०७४ मा चार अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ ।
नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकला र उनका सामान विदेश निर्यात भएको हो ।

नेपाल हस्तकला महासंघका अनुसार निर्यात भएको हस्तकलामध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा भएको छ । अमेरिकामा एक अर्ब ५६ करोड चीनमा ६७ करोड ४७ लाख, जर्मनीमा ४३ करोड ७१ लाख, जापानमा ३५ करोड मूल्य बराबरको हस्तकलाका सामान निकासी भएको छ ।

महासंघबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चिन, भारतलगायत ६० भन्दाबढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ ।

आव ०७३÷०७४ विदेश निर्यात भएको हस्तकलामध्ये फेल्ट, धातुजन्य, हातेकागज, ऊनीलगायत हस्तकलाका सामान धेरै छ । नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० संघ छन् ।
महासंघका अनुसार फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा धेरै माग हुने गरेको छ । आव ०७२÷०७३ को तुलनामा २०७३÷०७४ मा चार करोड मूल्यबढी कारोबार भएको थियो । आव २०७२÷०७३ मा रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार ५२४ विदेशमा निर्यात भएको थियो । गत वर्षमा भूकम्पका कारण केही कमी बिक्री भए पनि यो वर्ष भने बढेको हो ।