नाग पञ्चमीको अवसरमा नाग दहहरुमा भक्तजनको घुंइचो ।

0
644
काठमाडौँ, १३ साउन । नाग पञ्चमीको अवसरमा काठमाण्डौको नाग पोखरी, ललीतपुरको नागदह लगायत बिभिन्न स्थानमा भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । अन्य समयमा भद्रगोल जस्तै बनेका दहहरुमा नागपञ्चमी केन्द्रित पुजाआजाका लागि बिशेष सरसफाई तथा सजावट गरी सिंगारिएको छ । काठमाडौँको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि भक्तजनको विशेष घुइँचो लागेको छ ।
प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानमा दर्शन गर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन पुग्ने गरेका छन् । कर्कोटक नागराजाको बासस्थान मानिने दहको किनारमा विशेषगरी नागपञ्चमीका दिन नागको पूजा गर्न तथा जनै पूर्णिमाका दिन तागाधारीले स्नानसहित जनै फेर्ने, रक्षा बन्धन बाँध्ने आदि गरिन्छ । जनैपूर्णिमाका दिन साउन २३ गते यसपटक चन्द्रग्रहण परेकाले जनैपूर्णिमा पनि आज नै मनाइएको छ ।
कर्कोटक नागराजाले आफ्नी रानीको आँखा दुखेपछि स्थानीय किसानलाई बोलाएर झारफुक गरी निको पारेको र नागराजा खुसी भई हिरा, मोती, मणि, माणिक्य जडिएको भोटो किसानलाई उपहारस्वरुप प्रदान गरेको किंवदन्तीमा उल्लेख गरिएको पाइन्छ ।
उक्त दहमा आजको दिन स्नान गरी स्थानीयवासीले मकै, तरकारीलगायत चढाउने र नागको पूजा गर्नाले पारिवारिक सुख, शान्ति तथा सर्पबाट सुरक्षित हुनेविश्वास रहेको स्थानीयवासीको भनाई छ ।