भारतिय सिमेन्टको आयात रोकियो ।

0
414
धनगढी, १६ साउन । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तरीयताको परीक्षणपश्चात् दिने प्रतिवेदनका आधारमा मात्रै भारतीय सिमेन्टको आयात सञ्चालन हुन सक्ने भन्सार अधिकृत नारायणदत्त जोशीले बताउनुभयो ।
यसअघि सम्म आइएसओको प्रमाणपत्र र ‘ल्याब टेस्ट‘का आधारमा भारतीय सिमेन्ट पैठारी हुने गरेकामा चालु आवदेखि सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ल्याब टेस्टको प्रतिवेदन अनिवार्य व्यवस्था गरिएको बताइएको छ । भारतीय सिमेन्टको आयात रोकिए पनि यहाँ सिमेन्टको अभाव भने छैन । माग अनुसारको नेपाली सिमेन्ट बजारमा प्रशस्त रहेको सिमेन्ट बिक्रेता व्यापारीले बताएका छन् । यो व्यवस्थासँगै नेपालका सिमेन्ट उत्पादक कम्पनीको संरक्षणमा योगदान पुग्ने देखिएको छ ।