पाल्पामा बाँदर आतंकले किसानहरु समस्यामा,बाँदरबाट मकै जोगाउनै मुस्किल ।

0
439

पाल्पा, १७ साउन । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा बाँदरको कारण बाली जोगाउन मुस्किल परेका छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सबै वडामा बाँदरदेखि स्थानीय बासिन्दा त्रसित छन् । १०÷१२ वर्षदेखि बाँदरले गर्दा अन्नबाली जोगाउन समस्या रहेको भए पनि बाँदर धपाउन नसकिएको स्थानीय बासिन्दाको गुनासो छ ।

खेतबारीमा घोगा लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि किसानहरु समस्यामा परेका छन् । जिल्लाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो ।

वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको अनुभव छ । कुकुर पाल्न छाडेपछि बाँदर घरघरमा आउने र एक दुईजनालाई नटेर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

बाँदरले मकै भाँचेर नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । रातमा बाँदरको समस्या नभए पनि बिहानदेखि अँध्यारो नहुँदासम्म अन्नबाली जोगाउन समस्या रहेको छ ।