भरतपुरमा मतदान जारी,निरन्तरको झरीलाई वेवास्था गर्दै मतदाताको उत्साहपुर्ण सहभागीता ।

0
415
चितवन, २० साउन । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान भएको छ । बिहान ७ बजेपछि वडाका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको हो ।
सो वडामा किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् ।
मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबारदेखि नै सो वडामा बर्सात भइरहेको छ । बर्सात र हिलोका बिच पनि मतदाताको उपस्थिती उत्साहपुर्ण रहेको छ ।
राष्ट्रियरुपमा चर्चामा रहेको यस वडामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएका छन् ।
गए राति १२ बजेदेखि सो वडामा प्रवेश गर्ने नाकाहरु बन्द गराइएको थापाले बताउनुभयो । थापाका अनुसार तीनवटा मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येकमा ३५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी निरीक्षककै नेतृत्वमा तीनवटा मोबाइल टोली पनि परिचालन गरिएको छ भने प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीनवटा स्ट्राइकिङ टोली परिचालन गरिएका छन् । थप सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथीमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्ला पूरै हेर्न सक्ने सुरक्षा जनशक्ति एउटा वडामा परिचालन गरिएकाले कुनै समस्या नहुने बताउनुभयो ।