निर्वाचन क्षेत्र निर्धारण आयोगले शनिबारदेखि प्रतिबेदन लेख्ने,साउन ३१ गते प्रतिबेदन बुझाउने ।

0
490
काठमाडौँ, २० साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले सुझाव संकलन सकेर शनिबारदेखि तथ्यांकको विश्लेषण र मूल प्रतिवेदन लेखनलाई तीव्रता दिने भएको छ ।
आयोगले केन्द्रमा पत्रपत्रिकामार्फत र कार्यालयमै सुझाव लिएको प्रवक्ता गणेशराज कार्कीले बताएका छन् । आयोगलाई क्षेत्र निर्धारणका लागि २१ दिनको मात्रै कार्यादेश भएकाले देशका सबै भूभागमा गएर सुझाव संकलन गर्न नसकिएको बताइएको छ । “बढी जनघनत्व भएका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा पुगी आयोगका अधिकारीले छलफल गरी सुझाव लिएका थिए ।
आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थानुरुप संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० क्षेत्र निर्धारण गर्न यही साउन ५ गते मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।
आयोगले प्रमुख दलका शीर्ष नेतालाई कार्यालयमै बोलाएर सुझाव लिएको छ ।शुक्रबारसम्म कार्यालयमै आएका तथा इमेल, फ्याक्स, टेलिफोनबाट आएका सुझावलाई क्षेत्र निर्धारण गर्दा मार्गनिर्देशकका रुपमा लिने प्रवक्ता कार्कीले बताएकाछन् ।
आयोगले संविधान बमोजिम जनसंख्या र भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गरिने बताएको छ । न्यायोचित ढंगले कम विवाद हुने गरी साउन ३१ गते सरकारलाई प्रतिवेदन बुझाउने गरी काम भैरहेको आयोगले जनाएको छ ।