नेपाल पर्वतारोहण संघको मतगणना जारी, आजै परिणाम आउने ।

0
372

काठमाडौँ, २१ साउन । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

मतदान सकिएलगत्तै गणना सुरु भएको र आज रातिसम्म परिणाम आइसक्ने एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले बताएकाछन् । आज बिहान ८ः२० देखि अपरान्ह ४ः२० सम्म मतदान भएको थियो । मतदानमा ७३ प्रतिशत मत खसेको संस्थाले जनाएको छ ।

कुल एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित हुनेछन् । तीनवर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य मनोनित हुनेछन् ।

त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ । निर्वाचनमा जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामाको समूह प्यानलसहित प्रतिस्पर्धामा छन् ।