दूध पूर्ण स्वास्थ्य र गुणस्तरीय मापदण्ड तुरुन्त लागू गर्न सरकारलाई निर्देशन ।

0
344

काठमाडौँ, २२ साउन । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकामा वितरण हुने दूध पूर्ण स्वास्थ्य र गुणस्तरीय मापदण्ड तुरुन्त लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा सभापति मोहनप्रसाद बरालले मुलुकभर उत्पादन र वितरण हुने सबै दूधको गुणस्तर मापन गर्न र गुणस्तरीय नभएका अवस्थामा त्यसमा जिम्मेवार तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिनुभयो ।

समितिले बजारमा पशुपालन तथा खाद्य वस्तुको अनुगमन सम्बन्धमा बाधक बनेका कानून परिमार्जनका लागि प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा पशुपक्षी विकासमन्त्री शन्तकुमार थारुले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने दूध उत्पादन तथा प्रशोधन गर्ने कारखाना स्थलगत अनुगमन गरी सुधारका लागि पहल गरिने बताउनुभयो ।

बैठकमा सांसदहरुले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने दूध र दुग्धजन्य सामग्रीको गुणस्तरीयतामा मापदण्ड निर्धारण गरी कडाइपूर्वक लागू गर्नुपर्नेमा जोड दिए ।