निर्देशन पालना नगरेको भन्दै सांसदहरुले बबण्डर मच्चाए !

0
406

काठमाडौँ, २३ साउन । व्यवस्थापिका–संसद्को विकास समितिले सार्वजनिक यातायातको स्पष्ट खाका पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको छ ।

यातायात क्षेत्रको व्यवस्थापनका सम्बन्धमा देखिएका समस्या तथा चुनौती एवं समाधानका लागि गरिएका प्रयास र समितिले सो सम्बन्धमा दिएका निर्देशनको कार्यप्रगति विषयमा छलफल गर्न बसेको बैठकमा सांसदहरुले सार्वजनिक यातायात व्यवस्थित हुन नसकेको, यातायातमा सिन्डिकेटले भद्रगोल बढाएको, समितिले दिएका निर्देशन सरोकार भएका कार्यालयले कार्यान्वयन नगरेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले सडकअनुसारको सवारीसाधन हुनुपर्नेमा सवारी साधनअनुसारको सडक बनाउन खोज्दा समस्या आएको बताउनुभयो । उपत्यकाबाट पुराना र साना सबै सवारी साधन हटाइनुपर्ने साझा यातायातलयायत सार्वजनिक र निजी सबारी साधनमा प्रतिस्पर्धा गराइनुपर्ने बसपार्क राज्यले सञ्चालन गर्नुपर्ने, सार्वजनिक यातायातको एकाधिकारलाई समन्वयात्मकरुपमा अन्त्य गरिनुपर्ने उहाँको भनाइ थियो ।

समितिका सभापति रवीन्द्र अधिकारीले यातायात क्षेत्रका कर्मचारीको बानी सुधार गर्न दिएको निर्देशनको पालना नभएकाले सेवाग्राहीले सास्ती खेप्नु परेको बताउनुभयो ।
बैठकमा सांसदहरु गणेश पहाडी, अजयशंकर नायक, रामचन्द्र पोखरेल, बैजनाथ चौधरी, अमरसिंह पुन, सीता गिरी ओली, अनिता देवकोटाले मुग्लिन–नारायणघाट सडकमा घण्टौँ सवारी जाम हुँदा उपत्यका प्रवेश गर्न र बाहिर जान समस्या भएको, यातायात क्षेत्रमा अनुसन्धान गरेर काम नगरिँदा दीर्घकालीन सोचका काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आङ्टावा शेर्पाले संसद्को शून्य समयमा बोलेका विषयको सुनुवाइ पञ्चायतकालमा जत्तिको पनि हुन छोडेको गुनासो गर्नुभयो ।
सांसद केशवकुमार बुढाथोकी र जीवनबहादुर शाहीले ट्राफिक जाम सबै देशमा हुने भए पनि नेपालमा २४सै घण्टा जाम हुँदा समस्या भएकाले यसमा सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।