शिक्षा र स्वास्थ्यमन्त्रीले गरे संसद्लाई अपमान !

0
914

काठमाडौँ, २३ साउन । शिक्षा र स्वास्थ्यमन्त्री नआउँदा अनशनरत डा गोविन्द केसी सम्बन्धित विषय सामाजिक तथा मानवअधिकार समितिमा छलफल हुन सकेन ।

समितिले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई डा केसीको अनशन र जीवन रक्षाका बारेमा छलफलका लागि आज बिहान ११ बजे बोलाएको थियो ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठले सम्बन्धित विषयका विभागीय मन्त्री समितिले बोलाएको बैठकमा नआएर छलफलको विषयलाई हल्का ढंगबाट लिई सार्वभौम संसद्लाई अपमान गरेको बताउनुभयो ।

समितीले छलफलमा सहभागि हुन शिक्षामन्त्रीले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ तथा स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठलाई पठाएको थियो ।

तर समितिका सभापति श्रेष्ठले गम्भीर विषय भएकाले मन्त्रीलाई सहभागी हुन बोलाइएकाले उहाँहरुसँग छलफल नगर्ने भन्दै अर्को पटकका लागि उक्त विषयको छलफल स्थगित भएको जानकारी गराउनुभएको थियो ।
यसी साउन २६ गते बस्ने समितिको अर्को बैठकमा अनिवार्य उपस्थित हुन दुबै मन्त्रीलाई समितिले निर्देशन पनि दिएको छ ।