काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय साउन २१ गतेदेखि २७ गतेसम्म २७ दलबाट २८ वटा निवेदन परेको हो ।
पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् ।
नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौरा र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले दल दर्ताका लागि निवेदन दिएका छन् ।
त्यस्तै अन्य दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत रहेका छन् । निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
रुपन्देही–३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आगामी कात्तिक १७ गते सोमबार मतदान हुँदैछ । असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।








