काठमाडौँ, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार परिसरमा नयाँ निर्माण हुन लागेको रक्षा मन्त्रालय भवनको आज यहाँ शिलान्यास गर्नुभयो । भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आर्थिक अनुशासनमा रहेर तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न सबै पक्षलाई आफ्नो जिम्मेवारीको विषयमा सचेत रहन निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो– भवन स्वीकृतिको नक्सांकन र प्रारुपबमोजिमको गुणस्तर र लागतमा तोकिएको समयभित्र सम्पन्न गर्न निर्माण कार्यमा संलग्न सबैलाई निर्देशन गर्दछु ।
सिंहदरबार सचिवालय पुनःनिर्माण समितिबाट तयार गरी लागू भएको गुरुयोजनाअनुरुप नै भवन निर्माण हुनेमा विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आन्तरिक र बाह्य परिवेशको परिवर्तन अनुकूल प्रशासनिक संयन्त्र बनाउनका लागि दक्ष जनशक्ति, उपयुक्त प्रविधि तथा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो ।
रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै रक्षा मन्त्रालयले आफ्नो स्थापनाको उद्देश्यअनुरुप महत्वपूर्ण भूमिका निर्वाह गरी आएको बताउनुभयो ।
काठमाडौँ–निजगढ दु्रतमार्ग निर्माणको व्यवस्थापन नेपाली सेनालाई दिइएकाले मन्त्रालयले यसलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको पनि उहाँले सो अवसरमा जानकारी दिनुभयो ।
रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले प्रविधियुक्त अत्याधुनिक भवन निर्माणपछि मन्त्रालयको काम चुस्त र व्यवस्थित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, प्रधानसेनापति राजेन्द्र क्षत्री तथा सरकारका उच्च पदस्थ अधिकृत सहभागी हुनुहुन्थ्यो ।
Post Views: 573