भारतीय दूतावासका कन्सुलरको क्रियाकलाप खेदजनक : एमाले नेता रावल ।

0
797
साउन २५ काठमाण्डौं । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका भीमबहादुर रावलले भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्छ त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनले हालै भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्जमा भएको क्रियाकलाप खेदजनक भएको भन्दै सरकारले स्पष्टिकरण सोध्नु पर्ने बताएका छन्।
नेपाली काँग्रेसका सांसद तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगलागीले हालसम्म १५ घर जलेर नष्ट भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
सो घटनाका छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् । बैठकमा बोल्दै विष्टले अस्थायी शिक्षकका माग पूरा गर्न आग्रह गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दीलनाथ गिरीले वर्तमान सरकारले सुशासन कायम गरी भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
सोही पार्टीका बृजेशकुमार गुप्ताले सातवटै प्रदेशमा एक÷एकवटा मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति कहाँ पुग्यो भन्ने प्रश्न गर्दै २ नं प्रदेशमा मेडिकल कलेज बर्दिबासमा बनाउने प्रस्ताव अव्यवहारिक रहेको धारण राखे ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कृषिप्रधान देशमा पशुपालनतर्फ कृषकको आकर्षण बढाउने नीति सार्वजनिक गर्न माग गरे ।