शैक्षिक गुणस्तरका लागि सरकार लगानी गर्न तयार : शिक्षा मन्त्री श्रेष्ठ ।

0
755
साउन २६ काठमाण्डौं । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि सरकार सकारात्मक रहेको बताएका छन् । विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षाको गुणस्तर बृद्धिका लागि लगानी गर्न राज्य तयार रहेको भन्दै सहयोगका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
बहुविश्वविद्यालयको अवधारणा बमोजिम २०६७ सालमा कञ्चनपुरको पुनर्वासमा रहेको ६२ बिगाहा जमिनमा स्थापित सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन, मानविकी, शिक्षा र सामाजिक शास्त्र संकायमा स्नातक र स्नातकोत्तर तथा इञ्जिनियरिङ र विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ । आउँदो मंसिरमा हुने पहिलो दीक्षान्त समारोहमा करिब ४०० विद्यार्थी सहभागी हुनेछन् ।
विश्वविद्यालयका उपकुलपति प्रा भूषण श्रेष्ठले यस वर्षदेखि दीक्षान्त समारोहको आयोजना हुने र कृषि संकायको अध्ययन अध्यापन शुरु गरेको बताउँदै माग गरिएको बजेट निकासाका लागि सरकारसँग आग्रह गरे । सो विश्वविद्यालयले गत आवमा १५ वटा क्याम्पसलाई आंगिक बनाउन रु १९ करोड विनियोजन गरेकामा दरबन्दी प्राप्त नभएकाले रोकिएको छ ।
नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले विश्वविद्यालयले यसअघि निर्णय गरेर पनि १५ क्याम्पसलाई आंगिक नबनाएकामा चिन्ता व्यक्त गर्दै सरकारले आवश्यक बजेट दिनुपर्ने धारण राखेका थिए ।