बाढी पिडीतलाई उद्धार तथा राहत बितरण गर्न केन्द्रिय कमाण्ड पोष्ट गठन ।

0
246
काठमाडौँ, २९ साउन । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठकले केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ ।
अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त तथा छरितो बनाउन मन्त्री शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो ।
बैठकले भारतीय समकक्षीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोका खुलाउन अनुरोध गरेको छ ।
त्यसैगरी, बाढीपीडितको व्यवस्थापनका लागि यातायात तथा आपूर्ति व्यवस्थालाई सञ्चालनमा राख्ने, प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धि गर्ने लगायतका निर्णय भएको छ ।
अहिले बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरीबाट पाँच हजार ६००, सशस्त्र प्रहरीबाट एक हजार ७०० र नेपाली सेनाबाट एक हजार जना गरी जम्मा आठ हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
शनिबार साँझसम्म मुलुकका ११ जिल्ला वर्षा र बाढीबाट प्रभावित भएका छन् । अहिलेसम्म बाढीग्रस्त पाँचथर, सिन्धुली, झापा, मोरङ्ग, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर र पाल्पा जिल्लामा गरी कूल ३३ जनाको मृत्यु भएको छ र अन्य चार घाइते छन् ।
खोज तथा उद्धारमा नेपाली सेनाको हेलिप्याडमार्फत बाँकेका डुबानग्रस्त क्षेत्र नरैनापुर, होलिया, फत्तेपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानबाट २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
त्यसैगरी, झापाकोे मदरगाछी, कपन, कवास, सालपारा, सौरघुटु, सुनसरीको बुढीखोला सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बाग्मती क्षेत्र, रौतहटको बाग्मती र लालबकैयालगायत अन्य प्रभावित स्थानबाट ¥याफ्टिङ बोट लगायतका साधन प्रयोग गरी उद्धारको कार्य भइरहेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिबाट चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल, नून, तेल स्थानीयस्तरबाट खरिद गरी पीडितहरुलाई वितरण गरिएको छ ।