मौसममा सुधार आए पछि सिरहाको जनजिवन सामान्य उन्मुख ।

0
230

सिरहा ३० साउन । मौसममा सुधार आएपछि आज बिहानदेखि सिरहाको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ ।

विगत चार दिनदेखिको अविरल वर्षाका कारण आक्रान्त बनेको सिरहाको जनजीवन आज बिहान वर्षा रोकिएसँगै सामान्य बन्न थालेको हो ।

अविरल वर्षाका कारण सिरहामा कुनै मानवीय क्षति नभए पनि ग्रामीण भेगका बस्ती डुबानमा परेका थिए भने सिरहा सदरमुकामसहित मिर्चैया, गोलबजार र कर्जन्हालगायत मुख्य बजारसमेत जलमग्न भएको थियो ।

वर्षा रोकिएसँगै बस्तीमा जमेको पानीको सतह घट्न थालेको र नदीमा पनि पानीको सतह घट्दै गएपछि जनजीवन केही सहज हुन थालेको स्थानीयवासीले बताएका छन् । बस्तीमा पसेको बाढीका कारण विगत दुई दिनदेखि विस्थापित भएर सुरक्षित स्थानमा बस्दै आएका स्थानीयवासी अहिले बस्तीको पानी केही घट्न थालेपछि आ–आफ्नो घर फर्किन थालेको जिप्रका सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए।
वर्षा रोकिएसँगै रेडक्रस सोसाइटीलगायत विभिन्न सङ्घसंस्थाको समन्वयमा जिल्लाका बाढीपीडितलाई राहत वितरण शुरु गरिएको छ । त्यस्तै वर्षा र बाढीसँगै विगत दुई दिनदेखि अवरुद्ध नेपाल टेलिकम र एनसेलको मोबाइल तथा इन्टरनेट सेवा पनि आज बिहानदेखि सञ्चालनमा आएको छ ।